काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान बेइजिङ पुगेका छन् । हाङचौमा शनिबार राति भएको एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएर प्रधानमन्त्री दाहाल आज बिहान बेइजिङ प्रस्थान गरेका हुन् ।
स्थानीय समयअनुसार बिहान ११ बजेर १० मिनेटमा उनी बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । दाहाललाई चिनियाँ मन्त्रीले विमानस्थलमा स्वागत गरेका छन् । बेइजिङको समय नेपालको भन्दा २ घण्टा १५ मिनेट छिटो छ ।
विमानस्थलबाट प्रधानमन्त्री दाहाल बसोबासका लागि प्रबन्ध मिलाइएको बेइजिङस्थित स्टेट गेस्ट हाउस प्रस्थान गरेका छन् । त्यहाँ केही समय आराम गरेपछि प्रधानमन्त्री दाहाल बेइजिङमा आजै अपराह्न ४ बजे हुने नेपाल-चीन बिजनेस समिटमा सहभागी हुनेछन् । उक्त समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन् । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सो सम्मेलनको आयोजना गरेका हुन् ।
उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।
यसपछि आजै साँझ पौने ६ बजे चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
भोलि सोमबार प्रधानमन्त्री दाहालले चिनियाँ प्रधानमन्त्री लि छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भोलि नै नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यस्तै प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नेछन्।
उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम छ । उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिनेछन् ।
त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।
संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । महासभामा सहभागी भएपछि दाहाल त्यतैबाट असोज ६ गते चीन गएका थिए ।