६ चैत्र २०८१, बिहीबार
Follow Us

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०८०, शुक्रबार १०:५१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक-पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरे। उनले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए । चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उनले प्रतिबद्धता जनाए।

“यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ। पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ। आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ”, उनले भने।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिए। “अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ”, उनले भने, “चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।”