लण्डन । गैरआवासीय नेपाली संघले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विदुर तथा आसपासमा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका बाढी तथा पहिरो प्रभावित तथा उद्धार गरिएका नागरिकको स्वास्थ्य परीक्षण, आवश्यक उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राहत तथा उद्धारसँगै बाढी–पहिरो प्रभावित नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै एनआरएनएले स्वास्थ्य तथा चिकित्सकीय सहयोगलाई समेत निरन्तरता दिएको छ । एनआरएनएको स्वास्थ्य तथा मानवीय सेवा अभियानले विपद् प्रभावित नागरिकका तत्कालीन शारीरिक स्वास्थ्य समस्या समाधानसँगै उनीहरूले भोगेको मानसिक आघातलाई समयमै पहिचान तथा सम्बोधन गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य एवं स्वास्थ्य समितिका पूर्व संयोजक डा. सञ्जीव सापकोटाको नेतृत्वमा स्वास्थ्य टोली नुवाकोट पुगेर विदुर तथा आसपासमा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका बाढी तथा पहिरो प्रभावित तथा उद्धार गरिएका नागरिकको स्वास्थ्य परीक्षण, आवश्यक उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरेको छ ।
बाढी तथा पहिरोबाट अत्यधिक प्रभावित विभिन्न क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरी विदुर ल्याइएका नागरिकमध्ये दुईवटा होल्डिङ सेन्टरमा एनआरएनएको स्वास्थ्य टोलीले प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरेको हो ।
स्वास्थ्य परीक्षणका क्रममा प्रभावित नागरिकमा विभिन्न शारीरिक स्वास्थ्य समस्या देखिनुका साथै विपद्को प्रत्यक्ष अनुभव, आफन्त तथा सम्पत्तिको क्षति र विनाशका कारण उत्पन्न मानसिक तनावलाई समेत सम्बोधन गर्दै आवश्यक मनोसामाजिक तथा मानसिक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।
त्यसैगरी, विपद्का बेला अचानक बेहोस भएका, प्रतिक्रिया नदिने तथा नाडी नचलेका व्यक्तिलाई तत्काल जीवनरक्षक कार्डियोपल्मोनरी रिससिटेसन कसरी प्रदान गर्ने भन्ने विषयमा व्यवहारिक प्रदर्शनसमेत गरिएको थियो । विपद्का समयमा उद्धार तथा उपचारसँगै समुदायमा आधारभूत जीवनरक्षक सीपको ज्ञान आवश्यक हुने भएकाले त्यससम्बन्धी सचेतना र व्यवहारिक अभ्यासलाई समेत अभियानमा समेटिएको हो ।
स्वास्थ्य टोलीमा नेपालबाट वरिष्ठ बालरोग विशेषज्ञ डा. शिव श्रेष्ठ तथा मनोसामाजिक विज्ञ श्री राजन छत्कुलीसमेत सहभागी थिए ।
संघले प्रभावित नागरिकको आवश्यकता तथा स्थानीय तहसँगको समन्वयका आधारमा राहत, स्वास्थ्य सेवा तथा मानवीय सहयोगका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने गरी रणनीति तय गरेको छ ।
यसै सन्दर्भमा आजै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी प्रभावित क्षेत्र तथा उद्धार गरिएका नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने विषयमा छलफल गरिएको छ । छलफलका क्रममा अस्पतालमा आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री तथा अन्य आवश्यकताबारे जानकारी आदानप्रदान गर्दै आगामी स्वास्थ्य सहयोगलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत समन्वय गरिएको छ ।
त्यसैगरी, उपाध्यक्ष प्रविन गुरुङको नेतृत्वमा चितवन महानगरपालिका वडा नं. १७ मा बाढीका कारण पुगेको क्षतिको स्थलगत अवलोकन गर्दै प्रभावित क्षेत्रको वास्तविक अवस्था तथा स्थानीय आवश्यकताबारे जानकारी लिने कार्यसमेत गरिएको छ ।
रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान आज चौथो दिन पनि निरन्तर जारी रह्यो ।
अभियानअन्तर्गत आइतवार अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १ र ३ का जनप्रतिनिधिसँग भेटघाट गरी रसुवाबाट काठमाडौं ल्याइएका तथा येलो गुम्बामा आश्रय लिइरहेका करिब ३०० जना बाढीपीडितको वर्तमान अवस्था, आवश्यक सहयोग तथा तत्कालका आवश्यकताबारे जानकारी लिइएको छ । प्रभावित नागरिकका आवश्यकताका आधारमा आगामी राहत तथा सहयोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग आवश्यक समन्वयसमेत गरिएको छ ।
यस्तै, नुवाकोटमा बाढीबाट प्रभावित तथा विस्थापित भई हाल काठमाडौंमा रहेका पीडित परिवारसँग भेटघाट गरी तत्काल आवश्यक सहयोगका विषयमा प्रत्यक्ष जानकारी लिइएको छ । यसैगरी, बाढीबाट प्रभावित पीडित परिवारका प्रतिनिधिहरूसँग एनआरएनए सचिवालयमा समेत भेटघाट गरी उनीहरूको अवस्था, आवश्यकताका साथै तत्काल सम्बोधन गर्नुपर्ने विषयबारे जानकारी लिइएको छ ।
भेटघाटबाट प्राप्त जानकारी तथा सुझावका आधारमा प्रभावित नागरिकका लागि आवश्यक सहयोग तथा राहतका कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत छलफल गरिएको संघका प्रवक्ता सोम सापकोटाले जनाए ।



