३१ बैशाख २०८१, सोमबार
Follow Us

आधा रातमा नवनियुक्त आईजीपीलाई फुली

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार १७:०९

काठमाडौं । सरकारले नवनियुक्त आईजीपी प्रकाश अर्याललाई राति १० बजे फुली लगाइदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । सपथका लागि गृहमन्त्रालयका उच्च अधिकारी, सुरक्षा प्रमुखलाई आधा रातमा मन्त्रालयमा बोलाएर गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त अर्याललाई फुली लगाइ दिनेछन् ।
कानुनी रुपमा आफू बलियो हुनका लागि सरकारले आईजीपीलाई राति नै फुली लगाइ दिने निर्णय गरेको जानकारहरु बताउँछन् । गृहमन्त्री विमलेन्द्र निधिका कानुनी सल्लाहकार अरुणकुमार पञ्जियारका अनुसार अदालतले नै कार्य सम्पादन मूल्यांकनका आधारमा नियुक्त गर भनेकाले प्रकृया पूरा गरेर सरकारले आईजीपी नियुक्त गरेको हो ।
सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा आईजीपी नियुक्त गरेर फुली लगाइदिइ सकेपछि अदालतले औला ठड्याउन नसक्ने कानुनी सल्लाहकार पञ्जियारले बताए । आईजीपी नियुक्ति अघि कार्य सम्पादन मूल्यांकन समिति गठन गरेर उनीहरुले दिएको सल्लाहबमोजिम सरकारले आईजीपी नियुक्त गरेको थियो ।
यता आईजीपीको दावी गरिरहेका नवराज सिलवाल भने हिजो आइतबारदेखि नै कसैको सम्पर्कमा आएका छैनन् । यद्यपि उनका नजिक ठानिएकाहरुले सिलवाल भोलि मंगलबार पुनः अदालत जाने बताएका छन् । सिलवाल अदालत गए पनि यस पटक सरकार परिपक्व भएर प्रस्तुत भएकाले अदालतले केही गर्न नसक्ने बताइन्छ ।
नवनियुक्त आईजीपी काण्डै काण्डमा मुछिएकाले उनलाई भ्रष्टाचार मुद्दा लगाउने तयारी सिलवाल पक्षले गरिरहेको बुझिएको छ । लुम्बिनीमा एसएसपी हुँदा गाडी मर्मत काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नसियतका लागि काटेको पत्रसहित ३५ किलो सुन काण्ड व्युताएर अदालत जाने तयारी गरिरहेको बुझिएको छ ।
– सुनयना राउत