लन्डन । बेलायत सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत जैविक जोखिम तथा उदीयमान सुरक्षा चुनौतीको सामना गर्ने उद्देश्यले नयाँ राष्ट्रिय एआई जैविक सुरक्षा प्रयोगशाला (एआई बायोसिक्युरिटी ल्याब) स्थापना गर्न १० करोड पाउन्ड लगानी गर्ने घोषणा गरेको छ।
बुधबार सार्वजनिक हुने बजेटअन्तर्गत घोषणा गरिएको यो परियोजनालाई सरकारले विश्वमै पहिलो किसिमको संस्थाका रूपमा प्रस्तुत गरेको छ। प्रयोगशाला स्थापना गर्न प्रमुख एआई कम्पनीहरूले पनि सहयोग गर्नेछन्।
सरकारले साइबर आक्रमण, जैविक जोखिम तथा एआईको दुरुपयोगबाट उत्पन्न हुन सक्ने खतरासँग जुध्ने बेलायतको क्षमता बढाउन विभिन्न कार्यक्रममार्फत थप रकम खर्च गर्ने योजना पनि अघि सारेको छ।
बेलायतका एआई मन्त्री कनिष्क नारायणका अनुसार नयाँ प्रयोगशालाले विश्वस्तरीय वैज्ञानिक विशेषज्ञतालाई एकै ठाउँमा ल्याएर एआईको विकाससँगै देखा पर्न सक्ने जोखिमबाट नागरिकको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
उनले साइबर आक्रमणदेखि जैविक सुरक्षासम्मका उदीयमान खतरालाई समयमै पहिचान गर्ने र देशको सुरक्षाका लागि आवश्यक प्रविधिको विकास गर्ने सरकारको लक्ष्य रहेको बताए।
नारायणका अनुसार बेलायती विज्ञान, उन्नत चिप प्रविधि र स्वदेशी एआई कम्पनीमा लगानी बढाएर राष्ट्रिय सुरक्षा सुदृढ गर्नुका साथै औद्योगिक क्षमता पुनर्निर्माण र दक्ष रोजगारी सिर्जना गर्न सकिनेछ।
यस परियोजनालाई सहयोग गर्न एआई विकासकर्ता कम्पनीहरू ओपनएआई र एन्थ्रोपिकले संयुक्त रूपमा २० करोड पाउन्ड बराबरका एआई मोडल प्रयोग क्रेडिट उपलब्ध गराउने भएका छन्। यी क्रेडिट प्रयोगशालाले सम्बन्धित कम्पनीका एआई मोडल प्रयोग गर्न खर्च गर्न सक्नेछ।
बेलायतका अधिकारीहरूले एआईले स्वास्थ्य, शिक्षा, व्यवसाय र अर्थतन्त्रका विभिन्न क्षेत्रमा अवसर सिर्जना गर्ने भए पनि यसको विकाससँगै उत्पन्न हुन सक्ने जोखिमलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन्।
यद्यपि, नयाँ प्रयोगशालाको विस्तृत कार्यक्षेत्र, सञ्चालन प्रक्रिया र यसले गर्ने अनुसन्धानसम्बन्धी पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी छ।