२० बैशाख २०८१, बिहीबार
Follow Us

अर्थमन्त्री डा. महतसँग नेपाली जनसम्पर्क समितिको अन्तरक्रिया सम्पन्न

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०८०, मंगलवार १६:५०

लन्डन । बेलायत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री डा प्रकाशशरण महतसँग कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिले घेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन लन्डन आइपुगेका मन्त्री महतलाई समितिले सम्मान गरेको हो ।

आइतबार फेल्थामस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महत प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने विशेष अतिथिको रुपमा एफएनसीसीआईका अध्यक्ष चन्द्र ढकाल उपस्थित थिए। कार्यक्रम पूर्व सभापति विनोद मोक्तान, उपसभापति तथा १२औं महाधिवेशन समिति सदस्य प्रवेश केसी, महाधिवेशन प्रतिनिधि तथा नेसाका अध्यक्ष केस गुरुङ, महाधिवेशन प्रतिनिधि तर्कजंग गुरुङ, एनअरएनएका पूर्व संरक्षक शेर सुनार, महाधिवेशन प्रतिनिधि सदस्य तथा महामन्त्री इन्द्रहाङ लिङदेन, व्यवसायी उत्तम नेपाल, व्यवसायी कमल पौडेल र कार्यसमितिका सदस्यहरूबीच सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले स्वतन्त्र अभिव्यक्ति कांग्रेसको मूल सिद्धान्त भएको बताए । ‘स्वतन्त्रतामा विश्वास गर्नु हाम्रो मुल सिद्धान्त हो । तर, कहिलेकाही हामी अभिव्यक्ति स्वतन्त्रताको मान्यता भन्दा माथि गएर अराजकता र पार्टीका कुन कुरा बाहिर गर्न उपयुक्त हो वा हैन भनेर अभिव्यक्ति दिन्छौं, त्यसले जुनप्रकारको सन्देश जनतामा प्रवाह भएको छ, त्यसले जनता दिग्भ्रमित भएका छन्’, उनले भने । यसबारे आफूले पार्टीमा लगातार कुरा राख्दै आएको पनि उनले बताए । यस्ता कुराहरू छलफलने निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

बेलायत सरकारसँगको समन्वयमा दूतावासले गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुन बेलायत आइपुगेका डा महतलाई शनिबार साँझ बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीले स्वागत गरेका थिए ।

मन्त्री महतले लगानी सम्मेलनमा प्रस्तुती दिने कार्यक्रम रहेको छ । मंगलबार दिउँसो लन्डन म्यान्सन हाउसमा ‘इमर्जिङ नेपालः अपरचुनिटिज फर इम्प्याक्ट इन्भेस्टमेन्ट एन्ड ट्रेड’ विषयक सम्मेलन हुँदैछ । सम्मेलनमा मन्त्री महतले ब्रिटिस लगानीकर्ता र विकास साझेदार कम्पनीहरूसमक्ष नेपालमा लगानीको वातावरण, कानुनी व्यवस्था, सरकारका प्रस्ताव र लगानीका सम्भावित क्षेत्र आदिबारे प्रस्तुति दिनेछन् ।