१२ श्रावण २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०८०, मंगलवार ०५:५६

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो । काँग्रेसले भूकम्प पछिको उद्धार, राहत, पुनर्स्थापन र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

काँग्रेसले भूकम्प पछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । सुझावमा राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनर्स्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजीकरण गर्नुपर्ने रहेको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरूको अनुसरण गर्ने बताए । उनले खोज र उद्धारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने बताए । उनले भने, ‘हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतहरूलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरूले राहतका लागि आफूहरू सुरुवात गरेको बताए। यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरू आउने क्रम जारी छ ।’ प्रधानमन्त्रीले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यका बारेमा छलफल भएको बताए । उनले नेपालीहरूमा सङ्कटको बेला एक ठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपद्मा झैं यस पटक पनि सबै एकजुट भएको बताए ।

त्यसैगरि नेकपा एकीकृत समाजवादीले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरू सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो ।