१२ श्रावण २०८१, शनिबार
Follow Us

नागरिकको असन्तुष्टि समाधान गर्नेतर्फ लाग्नुपर्ने महामन्त्री थापाको भनाइ

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०८०, बुधबार १२:५४

चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले जनताको असन्तुष्टि कम भए व्यवस्थाविरुद्ध बोल्नेहरुको आवाज कमजोर हुँदै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताप्रति अहिले असन्तुष्टि बढ्दै गएको छ । यसका कारण आक्रोशित नागरिकको असन्तुष्टि प्रयोग गरेर आफ्नो बदनियत राखेको छ । नागरिक असन्तुष्टि कम भए पनि बदनियत राख्नेको स्वर र सङ्ख्या आफै घट्दै जान्छ ।” गणतन्त्रमा आम नागरिकले यो व्यवस्था ठीक छैन भनेर आफ्नो विचार राख्न पाउने बताउँदै उहाँले प्रचलित कानुनको सीमाभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्न पाउने बताउनुभयो ।

थापाले कसैलाई व्यवस्था मन पर्दैन भने मलाई यो बेवास्ता मन पर्दैन भन्न पाउनुपर्छ तर प्रचलित कानुनको सीमाभित्र बसेर सबैले आफ्नो अधिकारको प्रयोग गर्ने बताउनुभयो । अहिले देशमा देखिएको आर्थिक समस्या हल गर्न लाग्यो भने व्यवस्थाका विरुद्ध उठेका कुराहरु आफै निस्तेज भएर जाने महामन्त्री थापाले बताउनुभयो ।
देशमा देखिएको आर्थिक समस्याका विषयमा प्रधानमन्त्रीले सबै दलसँग परामर्श सुरु गर्नुभएको उहाँले जानकारी दिनुभयो । सत्तारूढ दल र विपक्षीमा रहेका सबै दलहरुसँग मङ्गलबारबाट छलफल प्रारम्भ भएको जनाउँदै छलफल निष्कर्षमा पुर्‍याउनुपर्ने उहाँको भनाइ छ ।

ऋण लिएर सदुपयोग गर्दासमेत समस्यामा परेका व्यवसायीहरुका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जसले ऋण लिएर सदुपयोग गर्दैन त्यतातिर सरकार जान आवश्यक छैन । जुन कामका लागि लिएको ऋण हो सोही स्थानमा खर्च गर्ने व्यवसायीको हकमा सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ ।”
सरकारले गर्न खोजेका सबै प्रक्रियामा कांग्रेसको साथ र सहयोग रहने महामन्त्री थापाको भनाइ थियो ।