१६ बैशाख २०८१, आईतवार
Follow Us

काउन्सिलरहरुले दिए बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

नेपालब्रिटेन डट कम्
१० मंसिर २०८०, आईतवार २२:४९

लन्डन । बेलायतका विभिन्न बरोस्थित नेपालीमूलका काउन्सिलरहरुले बेलायती प्रधानमन्त्री ऋषि सुनाकसमक्ष भूतपूर्व गोर्खाहरुको पक्षमा आवाज उठाएका छन्।

सत्तारुढ कञ्जरभेटिभ पार्टीका काउन्सिलरहरु विहीबार १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालय पुगेर गोर्खाहरुले उठाउँदै आएको समान पेन्सनको माग पूरा गरिदिन आव्हान गरेका हुन्।

काउन्सिलरहरुले प्रधानमन्त्रीका सल्लाहकार अमित जोगीलाई भेटेर उनीमार्फत् प्रधानमन्त्री सुनकलाई एक ज्ञापनपत्र समेत बुझाएका रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले बताए । काउन्सिलरहरुले प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निमन्त्रणा समेत गरेका छन्।


नेपाल र बेलायतबीचको मैत्री सम्बन्ध दुई शताब्दीभन्दा लामो भइसक्दा पनि बेलायतका बहालवाला प्रधानमन्त्रीबाट नेपाल भ्रमण हुन नसकेको सन्दर्भ उल्लेख गर्दै पत्रमा प्रधानमन्त्रीलाई नेपाल भ्रमणमा जान आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्री सुनकका सल्लाहकारले काउन्सिलरहरुले उठाएका दुवै विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सोहिअनुसार प्रधानमन्त्रीसम्म कुरा पुर्याइदिने आश्वासन दिएका थिए । गोर्खाहरुको समान पेन्सन मुद्धा यथासक्य र प्रधानमन्त्रीको नेपाल भ्रमण अर्को वर्षसम्म गराउने आश्वासन उनले दिएको काउन्सिलर बेल्वासेले नेपाली लिंकलाई बताए ।

काउन्लिरहरुको प्रधानमन्त्री कार्यालय भ्रमणको संयोजन रश्मोर बरो काउन्सिलर नेम थापा र लन्डन बरो अफ बार्नेट काउन्सिलर लक्ष्य गुरुङले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा कञ्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलरहरु लक्ष्यबहादुर गुरुङ, जीव बेल्वासे, गोवर्धन सिलवाल तथा काउन्सिलर उम्मेदवारहरु सुमन पुन, पुनम गुरुङ र ज्ञान गुरुङ सहभागी थिए ।

त्यस्तै, बेलायतको भेटेरान मिनिस्टर भइसकेका रश्मोर क्षेत्रका सांसद लियो डोचेर्टी र बेलायतस्थित वरिष्ठ समाजसेवी तथा व्यवसायी रविन्द्रजंग लामिछाने पनि उक्त अवसरमा सहभागी थिए ।

काउन्सिलरहरुको टोली लन्डनस्थित नेपाली दूतावास समेत पुगेको थियो । दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेर उनीहरुले उही ज्ञापन बुझाएका छन् ।