११ श्रावण २०८१, शुक्रबार
Follow Us

पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०८०, मंगलवार १२:४७

पाल्पा । पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले आज पहिलो पटक तानसेन नगरपालिका –४ सिल्खानटोलका १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

बज्राचार्यलाई प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लामा पहिलो गैरआवासीय नागरिकता प्रदान गर्नुभयो । बज्राचार्य विगत १८ वर्षदेखि आमा फ्रेडीरिके बुर्केट र बुवा सुमेध रत्न बज्राचार्यसँग जर्मनको कोनिगस्विन्टरामा बस्दै आएका छन ।

नेपालको संविधानमा भएको व्यवस्था अनुसार नेपाल नागरिकता तेस्रो संशोधन नियमावली, २०८० को अनुसूचि ८ को ग अन्तर्गत नागरिकता ऐन, २०६३ को दफा ७ क बमोजिम शर्त तथा अवस्था पुरा गरेकाले बज्राचायलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलले बताउनुभयो ।

जिल्लामै पहिलो गैरआवासीय नागरिकता लिन पाउँदा असाध्यै हर्षित भएको भन्र्दै नागरिकता दिएकोमा जिल्ला प्रशासन कार्यालय पाल्पा र नेपाल सरकारलाई बज्राचायले धन्यवाद समेत दिएका छन । नेपाली नागरिकता नियमावली गत असोज ४ गते राजपत्रमा प्रकाशित भएको थियो । उक्त नियमावली प्रकाशित भएसँगै गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको थियो  ।

पछिल्लो प्रकाशित राजपत्रमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र र विदेशी बुवाको हकमा नेपाली आमाको सन्तानलाई अंगिकृत नागरिकता उपलब्ध गराउने मुख्य दुई विषय रहेका छन ।