११ श्रावण २०८१, शुक्रबार
Follow Us

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०८०, बुधबार ०७:०५

रूपन्देही । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।

सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केरी पछि मङ्गलबार मृत्यु भएको विषयलाई लिएर विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा.बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो ।

विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा. बस्यालमाथि हातपात भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।

उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेकोसमेत बताए । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।

विवादका क्रममा चिकित्सकमाथि हातपात गर्ने मृतकका आफन्तमध्येका केही व्यक्तिलाई नियन्त्रणमा लिइएकोसमेत प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए । उनले चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरे ।