धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले राई समुदायले मनाउने विशेष पर्व (वाडाङ्मी) पापानीका अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।
सहिदभूमि गाउँ कार्यपालिकाको बैठकले पापानीको अवसरमा मंसिर १७ र १८ गते स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।
उक्त बिदाको दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्था, सेवा कार्यालयहरु र विद्यालयहरु बन्द रहनेछन् । सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्यता छ ।
यहाँको कुल जनसंख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको बसोवास रहेको छ । गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयमा गाउँपालिको मातृभाषा कक्षा सञ्चालन गर्दै आइरहेको अध्यक्ष राईले बताउनु भयो ।
विगतका वर्षमा पनि गाउँपालिकाले सो पर्वका अवसरमा स्थानीय बिदा दिएको थियो । धनकुटा नगरपालिकाले पनि गत मंसिर ११ र १२ गते नगरक्षेत्रमा बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड वडाङ्मेटका अवसरमा स्थानीय बिदा दिएको थियो ।