१२ श्रावण २०८१, शनिबार
Follow Us

नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०८०, बिहीबार ०६:४०

लमजुङ ।  लमजुङको दोर्दी गाउँपालिकाले समलिंगी जोडीको बुधबार विवाह दर्ता गरेको छ । दोर्दी गाउपालिका २, अर्चलबोटको कार्यालयले विवाह दर्ता गरेको हो ।

सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार वडा कार्यालयले विवाह दर्ता गरेको गाउपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार अनुसार दोर्दी गाउँपालिका २, सल्लाबोटका रामबहादुर गुरुङ (माया गुरुङ) ले नवलपरासीको कावासोती नगरपालिका ८, का सुरेन्द्र पाण्डेसंग समलिंगी विवाह गरेका हुन्।  दुवैले दोर्दी गाउँपालिका २, अर्चलबोटस्थित वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएकोमा वडा कार्यालयले विवाह दर्ता गरेको वडाअध्यक्ष गणेशबहादुर खत्रीले बताए ।

गाउँपालिका अध्यक्ष अधिकारीले समलिंगी विवाह नेपालमै पहिलो भएको दाबी गरे । समलिंगी विवाह उहाँहरुको अधिकार भएको र यो नेपालमा मात्रै नभएर सम्भवतः दक्षिण एसियामै पहिलो घटना भएको उनले बताए ।

सुरुमा गाउँपालिकामा विवाह गर्न निवेदन दिएकोमा गाउँपालिकाको समन्वयमा दुवैले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा निवेदन दिएपछि वडामै विवाह दर्ताको बाटो खुलेको हो । विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएसंगै वडा कार्यालयमै विवाह दर्ता भएको हो ।