६ कार्तिक २०८३, बिहीबार
Follow Us

तिहारअघि स्वदेश फर्किने तयारीमा आरजु राणा देउवा, कांग्रेसको उपसभापति बनाउने चर्चा

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०८३, बिहीबार १९:५६

लन्डन । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा आरजु राणा देउवा तिहारअघि नेपाल फर्किने तयारीमा रहेको बताइएको छ। गत वर्षको जेनजी आन्दोलनपछि उपचारका लागि हङकङ पुगेकी देउवा नेपाली कांग्रेस (इतर समूह) को आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै स्वदेश फर्किने तयारीमा जुटेकी हुन्।

कांग्रेसको आगामी नेतृत्व चयन र पार्टीभित्रको शक्ति सन्तुलनका विषयमा बहस तीव्र भइरहेका बेला देउवाको सम्भावित स्वदेश फिर्तीलाई राजनीतिक रूपमा महत्त्वका साथ हेरिएको छ। विशेषगरी उनलाई पार्टीको महिला उपसभापतिका रूपमा अघि सार्ने विषयमा कांग्रेसको इतर समूहभित्र छलफल भइरहेको स्रोतहरूको दाबी छ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले देउवा नेपाल फर्किने तयारीमा रहेको पुष्टि गरेका छन्।

नेपालब्रिटेन डटकमसँग कुरा गर्दै गुरुङले भने, ‘उहाँ नेपाल फर्किने तयारीमा हुनुहुन्छ। पार्टीको आगामी महाधिवेशनमा उहाँलाई महिला उपसभापति बनाउनुपर्छ भन्ने चौतर्फी दबाब छ। उहाँ कैलालीबाट १५औँ महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन भइसक्नुभएको छ। मंसिरमा हुने महाधिवेशनमा सहभागी हुन उहाँ स्वदेश फर्किनुहुन्छ।’

गुरुङका अनुसार देउवा यसअघि नै दशैँअगाडि नेपाल फर्किने तयारीमा थिइन्। तर केही प्राविधिक कारण तथा हङकङमा भारतीय संस्थापन पक्षसँग निकट मानिने केही नेताहरूसँग भेटघाटको कार्यक्रम तय भएपछि उनको नेपाल यात्रा केही साताका लागि पछाडि सरेको हो।

यद्यपि, देउवा नेपाल फर्किने निश्चित मिति भने अहिलेसम्म सार्वजनिक भएको छैन।

स्रोतका अनुसार देउवाका छोरा जयवीर देउवा र बुहारीसमेत दशैँको टीका लगाउन हङकङ पुगेका थिए। पारिवारिक भेटघाटसँगै देउवाले आफ्नो स्वास्थ्य अवस्था, स्वदेश फिर्ती र आगामी राजनीतिक गतिविधिका विषयमा समेत परामर्श गरिरहेको बताइएको छ।

गत वर्षको राजनीतिक उथलपुथलपछि विदेशमा रहेकी देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्र विकसित भइरहेको नयाँ राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको छ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी भइरहेका बेला पार्टीभित्र नेतृत्व हस्तान्तरण, संगठनात्मक पुनर्संरचना र महिला नेतृत्वको प्रतिनिधित्वका विषयमा छलफल बढेको छ।

यही सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री देउवालाई उपसभापति पदको सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने विषयले चर्चा पाएको हो।

कांग्रेसको इतर समूहसमेत महाधिवेशनको तयारीमा सक्रिय रहेको अवस्थामा देउवाको सम्भावित उम्मेदवारीले पार्टीभित्र नयाँ राजनीतिक समीकरण निर्माण गर्न सक्ने अनुमान गरिएको छ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु लामो समयदेखि पार्टीको राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएकी छन्। परराष्ट्रमन्त्रीका रूपमा काम गरिसकेकी उनको आगामी राजनीतिक भूमिकालाई कांग्रेसको नेतृत्व तहमा विशेष चासोका साथ हेरिएको छ।

यद्यपि, उपसभापति पदमा उम्मेदवारी दिने विषयमा देउवा स्वयंले औपचारिक घोषणा गरेकी छैनन्। उनलाई उम्मेदवार बनाउने विषयमा पार्टीका सम्बन्धित समूहबाट समेत आधिकारिक निर्णय सार्वजनिक भएको छैन।

धेरै पढिएको