१२ श्रावण २०८१, शनिबार
Follow Us

एनसेलका आजियटा र सतिशविरुद्ध मुद्दा दर्ता

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०८०, बुधबार १३:३०

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध रिट दायर भएको छ । यसअघिको स्वीडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पुँजीगत लाभकर तिर्न दिएको चार सय मिलियन अमेरिकी डलर (५३ अर्ब २० करोड रुपियाँ) हालै बाँडेर लिएको भन्दै एनसेलको पछिल्लो मलेसियन लगानीकर्ता आजियटा लिमिटेड र स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापकहरुविरुद्ध विदेशी मुद्रा अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्वन्धी ‘क्रिमिनल केस’ दर्ता गरिएको छ ।

मलेसियाको सरकारी स्वामित्वको बहुर्राष्ट्रिय कम्पनी आजियटाले अन्तर्राष्ट्रिय तथा स्थानीय कानुनलाई चुनौति दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाले खातामा जम्मा गरेको रकम नेपालमा नल्याई आपसमा मिलेर सिंगापुरमा नै बाँडफाँट गर्नु विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धीकरणविरुद्धको कार्य भएको बताउँदै आज बुधबार मुद्दा दर्ता गरिएको हो ।

एनसेलको ८० प्रतिशत शेयर बिक्री अवैध भएको भन्दै अन्तरिम आदेशबाट बदर गर्न माग गर्दै बाजुराका गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट हालेका हुन् । एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी भएको बिक्री शङ्कास्पद भएको भन्दै अनुसन्धानका लागि पनि आदेश माग गरिएको छ ।

यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाऊँ आदेश जारी गरेको थियो ।