१२ श्रावण २०८१, शनिबार
Follow Us

दाङमा १५ दिनमै ५ सय कुकुरको बन्ध्याकरण

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०८०, शनिबार ०७:३१

दाङ । दाङमा समुदायमा रहेका कुकुरको बिगबिगी बढ्न थालेपछि बन्ध्याकरण अभियान थालिएको छ । १५ दिनको अवधिमा ५ सय कुकुरको बन्ध्याकरण गर्नुकोसाथै रेबिजविरुद्धको सुई लगाइएको छ । भुस्याहा कुकुरको सङ्ख्या घटाउन जिल्लाका १० वटै स्थानीय तहमा यो अभियान चलाइएको हो ।

केही दिनअघि तुलसीपुर-१८ हेमन्तपुरमा छाडा कुकुरले घरको आँगनमै पाँच वर्षीय बालकलाई टोकेर घाइते बनायो । जिल्लामा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लैजानु पर्‍यो । आर्थिक अवस्था कमजोर भएका बालकको परिवारलाई वडा कार्यालयले सहयोग गर्‍यो । सोही वडामा एक हप्ताको अवधिमा पाँच जनालाई कुकुरले टोक्यो । छाडा कुकुरको बिगबिगी रोक्न अहिले बन्ध्याकरणको अभियान थालिएको छ ।

जिल्लाको राप्ती गाउँपालिकाले सामुदायिक कुकुरको बिगबिगी बढेपछि ८ वटै वडामा शिविर सञ्चालन गरेर ३ सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । यसबाट आगामी दिनमा कुकुरको सङ्ख्यामा कमी आउने आशा गरिएको छ । यो कार्यक्रमलाई निरन्तरता दिने योजना पालिकाको छ ।

जिल्लामा छाडा कुकुरको यकिन तथ्याङ्क पालिकाहरुसँग नभएपनि घरमा पालिएका कुकुर नियन्त्रणबाहिर रहन थालेपछि छाडा छाडिदिने गर्नाले कुकुरको सङ्ख्या बढ्ने गरेको छ । छाडा छाडिएका कुकुर मार्न नपाइने भएपछि यसको नियन्त्रणको एकमात्रै विकल्प बन्ध्याकरण र रेबिजविरुद्धको खोप रहेको सरोकारवालाहरू बताउँछन् ।