काठमाडौँ । अमेरिका र दक्षिण अफ्रिका पठाइदिन्छु भनेर ठगी गर्ने दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-६ घर भई ललितपुरको गोदावरी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ र झापाको बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौँको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिषेकलाई शुक्रबार लगनखेलबाट र अञ्जेशलाई सिनामंगलबाट पक्राउ गरेको हो। कार्यालयका अनुसार अभिषेकले अमेरिकामा प्रतिष्ठित होटलमा काम लगाइदिने र त्यसका लागि ३५ लाख लाग्ने बताएर सुरूमा ८ लाख रुपैयाँ लिएका थिए।
अञ्जेशले दक्षिण अफ्रिकामा महिनाको १ लाख २० हजार तलब हुने काममा पठाइदिने भन्दै विजय खत्री लगायतका दुई जनाबाट पटक-पटक गरी १७ लाख रुपैयाँ लिएका थिए।
पैसा लिएर दुवै जना सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। शुक्रबार पक्राउ परेका दुवैलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।