१२ श्रावण २०८१, शनिबार
Follow Us

ठेकेदार कम्पनीको लापरवाहीका कारण सास्ती खेप्‍न बाध्य स्थानीय

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०८०, मंगलवार ०५:४५

कञ्चनपुर । संघीयता आएसँगै गाउँ गाउँमा सिंहदबार पुगेका छन् । दुर्गम भनिएका अधिकांश पहाडी जिल्लाहरु यतिबेला सडक, यातायातसँग जोडिएका छन् । तर तराईमा रहेको कञ्चनपुर जिल्लाका कतिपय यस्ता गाउँ छन्, जहाँ अहिले पनि सडक र पुल नभएकै कारण स्थानीयले अकालमा ज्यान गुमाउनु परेको छ ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण समयमै पुल नबन्दा कञ्चनपुरको कृष्णपुर-१ का स्थानीयले वर्षेनी सास्ती खेप्नु परेको छ । बंक-नायल-बुडर सडकखण्ड अन्तर्गत ओदाल खोलामा निर्माणाधिन पुलको सम्झौता सकिएको ६ वर्ष नाघिसकेको छ ।

तर, हालसम्म पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । जसले गर्दा यहाँका स्थानीय हिउँदमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने बर्खामा आधारभूत आवश्यकताबाट समेत बञ्चित हुने गरेका छन् । खोलामा पुल र सडक नभएकै कारण अकालमा ज्यान गुमाउनुपर्ने नियति नै बनेको स्थानीय बताउँछन् ।

चुरेको फेदीमा रहेको यसक्षेत्र भौगोलिक रुपमा मात्रै होइन, स्वास्थ्य, शिक्षा र यातायातका दृष्टिले पनि विकट छ । हिउँदमा अटो रिक्सा, मोटरसाइकल, ट्याक्टरलगायतका सवारीका साधन चलेपनि बर्खामा भने चुरे भएर बग्ने खोलाका कारण यहाँको आवागमन बन्द हुने गर्दछ । जसले गर्दा विद्यार्थी, गर्भवती महिला र बिरामी सबैभन्दा बढी मर्कामा परेका छन् ।

उसो त, यस क्षेत्रमा पुल निर्माणका लागि २०७३ भदौमा थेगिम गाल्वा जे.भी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । ५ करोड ४७ लाखमा सम्झौता भएको पुलको ६ वर्ष अघि नै सम्झौता सकिएपनि हालसम्म एउटा मात्रै स्पान निर्माण गरेर अलपत्र अवस्थामा छोडिएको छ ।

पुल निर्माणका लागि ताकेता गर्दै आएपनि ठेकेदार कम्पनीले अटरी गरेकाले ठेक्का तोड्नका लागि पत्राचार गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा थेगिम गाल्वा जे.भीका पुल र सडक निर्माणका चारवटा योजना छन् । ओदाल खोलामा मात्रै होइन अन्य योजनाको पनि म्याद नाघेको वर्षौ भइसकेको छ । त्यसैले सरकारले ठेक्का सम्झौता गर्दा विगतका योजनाहरुको कामलाई मूल्यांकन गरेर त्यसकै आधारमा नयाँ योजनाको दिने परिपाटीको विकास गर्न जरुरी देखिन्छ ।