१० असार २०८१, आईतवार
Follow Us

बिपी र मदन छैनन् तर भ्रष्टाचारी तह लगाउने तागत छ : रवि लामिछाने

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०८०, बुधबार ०९:२५

लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा मदन भण्डारी र बिपी कोइराला जस्ता नेता नभए पनि भ्रष्टाचारीलाई तह लगाउने क्षमता भएको बताए ।

लामिछानेले अल्डरशटमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा रहेका नेपालीहरुलाई देश बनाउने नीति बनाउन सहयोग गर्न आग्रह गरे ।

उनले पुराना कानूनको आधारमा देशले फड्को मार्न नसक्ने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा विधेयक मार्फत सबैलाई बराबर शिक्षाको ग्यारेन्टी गर्न चाहेको बताए ।

देश टाट पल्टिसक्दा पनि तिनै पुरानालाई विश्वास गर्दा देश नबन्ने तर्क गर्दै उनले आफ्नो मत परिवर्तन गर्न आग्रह गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदहरुको उपस्थितिले अहिलेको संसद हेर्न लायक भएको दावी गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले परिवारवादलाई निषेध गरेको बताए । उनले भने पुराना नेताहरुले देश बनाउछन् भन्नेमा विश्वास छैन् बरु बाँकी रहेको देश समेत समाप्त पार्छन् । उनले ३५ दिन गृहमन्त्री हुँदा ऐतिहासिक रुपमा राजस्व संकलन गरेको बताए । उनले बेलायतमा रहेका भूपूगोर्खा आन्दोलनप्रति आफ्नो एक्यबद्धता जनाए ।

उनले गैरआवासीय नेपाली नागरिकताले भूपूगोर्खाहरुको भावनालाई नसमेटेको दावी गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यतामा अडिक रहेको बताए ।