१६ जेष्ठ २०८१, बुधबार
Follow Us

लुटन टाउनका कप्तानलाई मैदानमै हृदयघात

नेपालब्रिटेन संवाददाता
१ पुष २०८०, आईतवार ०६:२०

लन्डन । इंग्लिस क्लब लुटन टाउनका कप्तान टोम लकियरलाई गएराति बर्नमाउथसँगको खेलका दौरान हर्ट अट्याक भएपछि खेल रद्द गरिएको छ । खेलको ६५ औं मिनेट चलिरहँदा उनी मैदानमै ढलेका थिए ।

२९ वर्षे खेलाडी टोम मैदानमा ढलेको समयमा खेलको स्कोर १–१ को बराबरी भएको थियो । उनको आसपासमा केही खेलाडी नभएको समयमा उनी मैदानमा डलेका थिए । त्यसपछि बाँकी खेलाडी र लुटनका अफिसियलले उनलाई तत्कालै अस्पताल लैजानुपर्ने भन्दै इसारा गरेका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो । बर्नमाउथको भिटालिटी रंगशालाका उद्घोषकले त्यसको केही समयमा पछि मात्र बाँकी खेल नहुने जानकारी दिएका थिए ।

मैदानबाट बाहिर निकालिएपछि टोमको होस आएको र अहिले अस्पतालमा स्थिर अवस्थामा रहेको क्लबले जानकारी दिएको छ । गत मे महिनामा लुटनले प्रोमोसनको प्लेअफ खेल्दा पनि लाकियर खेलकै दौरान मैदानमा ढलेका थिए । त्यसपछि उनको मुटुको शल्यक्रिया गरिएको थियो । गएराति भएको खेलमा पाहुना टोली लुटनले खेलको तीन मिनेटमा नै अग्रता बनाएको थियो । तर ५८ औं मिनेटमा बर्नमथले गोल फर्काएपछि खेल एक- एकको बराबरी भएको हो ।