१४ असार २०८१, बिहीबार
Follow Us

सत्य-स्वरूपको दुई गीत सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१ पुष २०८०, आईतवार ०६:२१

काठमाडौं । गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा उनीहरूको गीत सार्वजनिक गरिएको हो ।

गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिए । “हामीले अडियो तयार गरेर आँखालाई पनि बिझाउनु हुँदैन भनेर श्रव्यदृश्य पनि उस्तै मेहनत गरेर तयार गरेका छौँ ।

यो गीत हेर्दै गर्दा पक्कै केही भिन्नता र फरक महसुस गर्नुहुन्छ भन्ने लागेको छ”, गायक सत्यराजले भने । ‘पागलपन’ बोलको गीतमा उनलाई गायिका अञ्जु पन्तले स्वर दिएर सघाएकी छन् ।

अर्को ‘माया’ बोलको गीतमा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएका छन् । गायक आचार्यले सिधैँ रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकाले पुराना गीत झैँ मिठास हराएको बताए ।

“मैले यो गीत दुई साता अभ्यास गरेर गाएको हुँ । यसकारण पनि रेडियो नेपालमा रेकर्डिङ हुँदाको समय स्मरण गरे । यो चल्नु पर्ने वा टपक्कै मुखमा झुन्डिने शब्दभन्दा पनि मिठास बोकेको शब्द र सङ्गीत छ”, गायक आचार्यले भने, “गीतकारले बजार निर्देशितभन्दा पनि राम्रो गीत बनाउने प्रयास गरेका छन् । यस्ता सर्जकले गीतसङ्गीतको आयु बढाउने काम गरिरहनु भएको हुन्छ ।”

सार्वजनिक गरिएको दुई गीतमा पदम लोहारले शब्द रचना छ भने श्रव्यदृश्यमा अभिनय पनि गरेका छन् । चलचित्र गीतझैँ निर्माण गरिएको श्रव्यदृश्यले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए ।

पत्रकार सम्मेलनमा सङ्गीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतको उपस्थिति थियो ।