१२ श्रावण २०८१, शनिबार
Follow Us

‘प्रचण्ड’ सरकारको काम हेर्दा १०० मा १० अङ्क मात्रै दिन्छु : गगन थापा

नेपालब्रिटेन संवाददाता
१ पुष २०८०, आईतवार १३:२४

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्कन गर्दा १०० मा १० अङ्क मात्रै दिन सकिने बताएका छन्।

काँग्रेससमेत सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले काम गर्न नसकेको थापाको भनाइ छ।

पर्वतमा काँग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘नेपाललाई सम्हाल्ने काम कसले गर्छ ? नेकपा (एमाले) ले नेपाल सम्हाल्छ ?, माओवादीले वा नयाँ आएको पार्टीले नेपाल सम्हाल्छ ? म सरकारको कुरा गरिरहेको छैन। सरकारमा एक वर्षमा राम्रो काम भयो भनेर सोध्दै गर्दा म भन्छु-गत वर्ष पुसमा मजस्ता काँग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अङ्क मात्रै पाउने काम गरेको छ।’

सरकारमा बसेर प्रधानमन्त्री दाहालले काम गर्न नसकेको उनले बताए। ‘चित्त बुझाउने कुरै छैन, सरकारले काम गर्न सकेकै छैन,’ उनले भने, ‘अब एक वर्ष बाँकी छ। हामीले बनाएको सरकार हो। कि अब १० अङ्क मात्रै आएकोले मेहनत गर्छु भन्नुपर्‍यो। नत्र अर्को वर्ष १० बाट घटेर ८ अङ्कमा झर्छ।’