१२ श्रावण २०८१, शनिबार
Follow Us

आवश्यकताअनुसार मन्त्रीमण्डल फेरबदल हुनसक्छ: प्रवक्ता शर्मा

नेपालब्रिटेन संवाददाता
१ पुष २०८०, आईतवार १३:२५

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन गर्न सकिने जनाएकी छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको स्पष्ट पारिन् ।

सरकार आफ्नो उद्देश्यमा अविचलित रहेको दाबी गर्दै उनले सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको दाबी गरिन् ।

‘सरकारले लय गुमायो कि भन्ने चिन्ता छ, हामीले लय गुमाएका छैनौं । सरकारको प्राथमिकता भनेको समृद्धिमा पुग्ने, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने हो । सरकार आफ्नो नीति र उद्देश्यमा विचलित छैन । सरकार आफ्नो उद्देश्यमा अविचलित छ,’ उनले भनिन्, ‘मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुराहरु छ, यो विषयमा कुनै छलफल भएको छैन, आवश्यकताअनुसार परिवर्तन यस्तो हुन सक्दैन भन्न त सकिँदैन तर अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन । अहिले मन्त्रीहरु केही परिवर्तन हुन्छ कि भन्ने कुरा छैन । यो हाम्रो गठबन्धन र राजनीतिक दलभित्र भएको छैन, यो सम्भावना तत्काल छैन ।’

प्रवक्ता शर्माले सरकार आफ्नो नीति र उद्देश्यमा विचलित नरहेको स्पष्ट पारिन् ।