१२ श्रावण २०८१, शनिबार
Follow Us

सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्ने मनस्थितिमा प्रधानमन्त्री

नेपालब्रिटेन संवाददाता
६ पुष २०८०, शुक्रबार ०६:३०

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्तिका कारण विवादमा परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्ती गर्ने संकेत दिएका छन् ।

हिजो बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले किराँतीको अभिव्यक्तिलाई आफूले गम्भीर रुपमा लिएको बताए । प्रचण्डले आफू राजधानी फर्किएपछि किराँतीलाई बोलाएर कुरा गर्ने र त्यसपछि कसरी अघि बढ्ने भन्नेबारे निर्णयमा पुग्ने उल्लेख गरे ।

‘मन्त्री किराँतीको अभिव्यक्तिलाई मैले गम्भीर रूपमा लिएको छु’, उनले भने, ‘एकचोटि मन्त्रीसँग कुरा गरेपछि कसरी जाने अन्तिम निर्णय हुन्छ । जसरी बाहिर आइरहेको छ, त्यो गम्भीर नै छ ।’ विभिन्न राजनीतिक दलका नेता र हिन्दूवादीहरुले किराँतीको बर्खास्तीको माग गरिरहेका छन् ।

एक कार्यक्रममा किराँतीले संसारमा क्रिश्चियनहरुको जनसंख्या ८० प्रतिशत रहेको र नेपालमा क्रिश्चियन धर्मलाई स्वीकार नगर्नेहरु संविधान र राज्यविरोधी भएको टिप्पणी दिएका थिए । उनको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूले इतिहासमै रेकडै ब्रेक गर्ने गरी काम गरेको दाबी गरे । उनले भ्रष्टाचार नियन्त्रण, सुशासन, मिटरब्याजीमाथि कारबाही र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका क्षेत्रमा ऐतिहासिक रेकर्ड कायम गरेको जिकिर गरे । गठबन्धन सरकारका सीमा र अप्ठ्याराका कारण सोचेजस्तै काम गर्न भने नसकिएको उनको भनाइ थियो । ‘मैले जति र जसरी सोचेको छु। त्यसरी नै सफल भइयो भन्ने मेरो दाबी छैन,’ उनले भने, ‘ गठबन्धन सरकारका धेरै अप्ठ्यारा र सीमाहरू हुन्छन् ।’

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा धेरै उपलब्धीका रेकर्ड धेरै भए पनि मिडियाले कुरै नबुझी लेख्ने गरेको टिप्पणी गरे । उनले सामाजिक न्याय र भ्रष्टाचार निवारणमा पनि इतिहासको रेडर्क तोडिएको जिकिर गरे ।

‘‘सुशासनका पक्षमा इतिहासमा यो लेभलको कारबाही प्रक्रिया कहिल्यै चलेको थियो ?’, प्रचण्डले भने, ‘भूमाफियाविरूद्ध पनि कारबाही भयो । अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले सफल भयौं । सफल मात्रै होइन । ऐतिहासिक रूपले सफल छ भन्न सकिन्छ ।’

उनले सरकार थप आक्रामक ढंगले काममा लागि पर्ने बताए । उनले आफूले विकास निर्माणका काम र जनतालाई सेवा दिने विषयमा आक्रामक योजना बनाएको र मन्त्रीहरुलाई पनि सोहीअनुसार काम गर्ने निर्देश गरिएको बताए । नतिजा आउने गरी काम नगरे मन्त्रीहरुप्रति कडा रुपमा प्रस्तुत हुने चेतावनी उनको थियो ।