१२ श्रावण २०८१, शनिबार
Follow Us

रविलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने

नेपालब्रिटेन संवाददाता
८ पुष २०८०, आईतवार १३:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजो शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई थप १० दिन हिरासतमा राखिने भएको छ । सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार सभामा रविले बोल्दै गर्दा रवि लाई एक युवाले खोया प्रहार गरेका थिए । रवि लाई खोया प्रहार गर्ने लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले रहेका थिए ।

प्रहरीले राइनासबाट उनको विवरण मगाएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन । राइनास–८ वडाध्यक्ष कृष्णबहादुर रानाभाटले खोया प्रहार गर्ने सन्तोषको परिवारमा अन्य व्यक्ति साथमा नरहेको र उनी राजनीतिक आस्था राख्ने व्यक्ति पनि नभएको पनि जानकारी दिएका छन ।

रास्वपा सभापति रवि लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए । तर, प्रहरीले रास्वपा वा कुनै व्यक्तिको उजुरीका आधारमा नभई प्रहरी प्रतिवेदनका आधारमा मुद्दा अगाडि बढाइएको एसपी जानकारी दिएका छन । वडाध्यक्ष कृष्णबहादुरले भने ती व्यक्तिलाई मुद्दा चलाएर हिरासतमा राख्नुको अर्थ नभएको बताए ।

पूर्व गृहमन्त्री, उनको पार्टीबाट कसैले उजुरी नगरे पनि अनुसन्धान अगाडि बढाउनु प्रहरीको जिम्मेवारी भएको एसपी थापाले जानकारी दिएका छन । वयानमा सन्तोषले झुक्किएर प्रहार भएको र आफ्नो कुनै प्रतिशोध पनि नरहेको बताएका छन् ।