११ श्रावण २०८१, शुक्रबार
Follow Us

हमासले बन्धक बनाएकामध्ये ५ जनाको शव भेटियो : इजरायली सेना

नेपालब्रिटेन संवाददाता
९ पुष २०८०, सोमबार १३:१८

इजरायली सेनाले हमासले बन्धक बनाएकामध्ये ५ जनाको शव उत्तरी गाजाको भूमिगत सुरुङमा फेला पारेको जनाएको छ । यसै महिनाको सुरुमा ती शव फेला परेको जनाइएको छ । ती शवमध्ये तीन जना सैनिक र दुई जना इजरायली सर्वसाधारणको रहेको स्थानीय समाचार माध्यमले जनाएका छन् ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले उनीहरू कसरी मारिए भन्ने निश्चित हुन बाँकी रहेको र पोष्टमार्टमपछि परिवारलाई यसबारे जानकारी गराइने बताएका छन् । गत साता हमासले तीन जना बन्धकको जीवित अवस्थाको भिडियो सार्वजनिक गरेको थियो । त्यसको केही दिनपछि नै हमासले इजरायली सेनाको कारबाहीमा उनीहरू मारिएको जनाएको थियो ।

नेपाली नागरिक विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेका छन् भने सरकारले उनको रिहाइको पहल गरिदिन कतार सरकार र अन्तर्राष्ट्रिय रेडक्रसलाई आग्रह गर्दै आएको छ । हमासले करिब २सय ४० जनालाई बन्धक बनाएकोमा नोभेम्बरमा भएको सात दिने संघर्ष विरामका क्रममा एक सय १० जनालाई मुक्त गरेको थियो ।

यसैबीच इजरायलले गएराती गाजामा गरेको हवाई आक्रमणमा ७८ जना प्यालेस्टिनी मारिएका छन् । क्रिसमसको पूर्वसन्ध्यामा भएको आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका छन् ।सैन्य कारबाहीका क्रममा दश जना इजरायली सैनिक पनि मारिएका छन् ।

हमास विरुद्धको ११ हप्ता लामो युद्धमा गएरातीको आक्रमण सबैभन्दा बीभत्स रात्रिकालीन आक्रमण भएको बताइएको छ ।

आज इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको दिन जिसस क्राइष्टको जन्मथलो बेथलेहममा भने वातावरण शान्त र गम्भीर रहेको जनाइएको छ । इजरायलले कारबाही तीव्र पारेपछि बेथलेहेममा क्रिसमस उत्सव रद्द गरिएको छ ।

विशाल क्रिसमस रुख छैन भने पर्वमा राखिने बत्तीहरू पनि राखिएका छैनन् । त्यस्तै पर्यटकहरूको सङ्ख्या पनि निकै कम छ ।