१२ श्रावण २०८१, शनिबार
Follow Us

रुसी सेनामा दुई सयभन्दा बढी नेपाली रहेको अनुमान छ : परराष्ट्रमन्त्री साउद

नेपालब्रिटेन संवाददाता
१० पुष २०८०, मंगलवार १३:२५

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका छन । उनले तीमध्ये ७ जनाको मृत्यु भएको, १०० जना हराइरहेको र घाइते भएको भनी परिवार र आफन्तबाट उजुरी आएको जानकारी दिएका छन ।

आज (मंगलबार) राष्ट्रिय समाचार समितिसँग अन्तर्वार्ताका क्रममा मन्त्री साउदले यसतो बताएका हुन । उनले काम, अध्ययन र भ्रमणको सिलसिलामा रुस पुगेका करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको पनि बताएका छन ।

उनले भनेका छन, ‘करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो ।

किनभने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो सङ्ख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ ।’ उनले रुसी सेनामा भर्ना भएकामध्ये सात जना मारिएको सूचना रुसी सरकारले नै दिएको छ बताएका छन ।

उनले भने, ‘यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरुका परिवार र साथीभाइले खबर गरेका छन् । ’ उनले यो विषयमा नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर नेपालको चासो रुसी सरकारसमक्ष पुर्‍याउन आग्रह गरेको बताएका छन ।

उनले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर रुस जान नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र श्रीलंका तथा खाडीका ६ देशबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० को व्यवस्था गरिएको पनि जानकारी दिएका छन ।