१२ श्रावण २०८१, शनिबार
Follow Us

‘पर्खी बसें तिमीलाई’ ट्रेलर सार्वजनिक

नेपालब्रिटेन संवाददाता
११ पुष २०८०, बुधबार ०५:५६

फिल्म ‘पर्खी बसें तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । पुस २७ गते प्रदर्शन तय गरिएको फिल्म राजाराम बुढाथोकीले निर्माण गरेका हुन् भने यसबाट अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसें’ झैँ यसपटक पनि नयाँ अनुहारलाई डेब्यु गराएको जानकारी दिए ।

‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने । उनेल २७ औँ चलचित्रको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत डेब्यु गर्ने कलाकारको भविष्य उज्वल रहेको बताए । सार्वजनिक ट्रेलरमा आकाश (किरण) र आभा (रक्षा) को भेट, बढ्ने सामिप्यता, प्रेम र विछोडलाई देखाईएको छ ।

फिल्ममा आकाशले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् भने आभा सम्पन्न परिवारको छोरीको भूमिकामा छिन् । निर्देशक श्रेष्ठले नयाँ भएता पनि काममा भने उनीहरु परिपक्क रहेको बताए । ‘उनीहरुको कामले यो यात्रामा निरन्तरता दिनेमा विश्वस्त छु । अहिलेको पुस्तामा काम प्रतिको लगनशीलता देखेर म झनै खुसी भएँ’, निर्देशक श्रेष्ठले भने ।

निर्माता बुढाथोकीले विना सम्झौता फिल्म तयार गरेको जानकारी दिए । उनले भने,‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो मनोरञ्जनात्मक चलचित्र बनेको छ । स–परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ ।’

अभिनेत्री रक्षाले आफूले प्रेम कथानक फिल्ममार्फत डेब्यु गर्न पाउँदा खुसी व्यक्त गरिन् । ‘फिल्ममा लभर गर्लको रुपमा प्रस्तुत भएकी छु । नयाँ भएता पनि टिमले गर्नु भएको सहयोगले मैले आफ्नो काम देखाउने अवसर पाएकी छु । प्रेम प्राप्ति र वियोगलाई व्यक्त गरिएको पात्रमा मलाई दर्शकले पाउनु हुनेछ’,रक्षाले भनिन् ।