११ श्रावण २०८१, शुक्रबार
Follow Us

राप्रपाः बाहिर राजतन्त्रको नारा, भित्रभित्रै गणतन्त्र पक्षधरसँग भागबण्डाको बार्गेनिङ

नेपालब्रिटेन संवाददाता
१२ पुष २०८०, बिहीबार ०६:२७

काठमाडौँ । ज्ञानेनद्रलाई राजा बनाउने अभियानमा रहेको राजावादी दल राप्रपा भित्रभित्रै भने गणतन्त्रवादी दलसँग सत्ता बार्गेनिङ गरिरहेको छ ।

राप्रपाले आगामी ११ माघमा रिक्त हुनै लागेको २० सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनमा एक सदस्यका लागि बार्गेनिङ गरेको हो । सत्तारुढ काँग्रेस र माओवादी केन्द्रसहितका दल गणितका कारण राप्रपालाई कोशी प्रदेशको सभामुख दिन तयार छन् ।

राप्रपा सभामुख लिन तयार पनि भइसकेको थियो । तर, राष्ट्रियसभामा भाग नपाए सभामुख नलिने अडान राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको छ । पुस ७ मै सभामुख निर्वाचन गर्ने तयारी थियो । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने निर्णयसमेत गरेको थयो ।

तर, राप्रपाको नयाँ माग राखेर बार्गेनिङ गरेका कारण सभामुख चयन हुन सकेन । प्रवक्ता मोहन श्रेष्ठ भने राप्रपाले भागका लागि बार्गेनिङ नगरेको दाबी गर्छन् । श्रेष्ठले कोशीको सभामुखमा भने तत्कालका लागि पछि हटेको उनले स्वीकार गरे । यद्यपि त्यसको कारण भने खुलाएनन् । गणतन्त्र र संघीयता खारेज गर्नुपर्ने एजेण्डा उठाउँदै आएको राप्रपा गत वर्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

अध्यक्ष लिङदेन आफैं उपप्रधान तथा ऊर्जामन्त्री थिए । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा एमाले र माओवादी सहकार्य टुट्यो । काँग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भए । एमालेले सरकार छाड्यो । एमालेसँगै देशभर चुनावी गठबन्धन गरेको राप्रपा पनि सोही कारण सरकारबाट बाहिरियो । राप्रपाबाट हाल बामगती प्रदेशसभामा भुवन पाठक सभामुख छन् ।

यस्तै प्रतिनिधिसभाको विकास समिति सभापतिमा पनि राप्रपाले भागबण्डा लिएको छ । मकवानपुरबाट निर्वाचित राप्रपा सांसद दीपकबहादुर सिंह संसदको पूर्वाधार विकास समिति सभापति छन् । सिंहलाई कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सर्तमा माओवादी केन्द्रले आफ्नो भागमा परेको उक्त समितिको सभापति राप्रपालाई दिएको थियो ।