२० बैशाख २०८१, बिहीबार
Follow Us

पहिलो ‘एनआरएन अन्तराष्ट्रिय महिला सम्मेलन’ को आयोजना हुने

नेपालब्रिटेन डट कम्
१३ पुष २०८०, शुक्रबार १९:२४

लण्डन । विश्वभर छरिएका गैरआवासीय नेपाली महिलाहरु काठमाण्डौंमा भेला हुने भएका छन् । विदेशमा शिक्षा, स्वास्थ्य, व्यवसाय लगायतका विभिन्न क्षेत्रमा सकृय महिलाहरुको पहिलो सम्मेलनको तयारी गरिएको छ ।

गैरआवासीय नेपाली संघकी महिला संयोजक अनुजा प्रधानका अनुसार विदेशमा रहेर नेपाली महिलाहरुले सिकेको ज्ञान र सीपलाई नेपालको हितको लागि सदुपयोग गर्ने र विश्वश्रम बजारमा नेपाली महिलाहरुले भोगेका समस्यहरुलाई नेपाल सरकारको ध्यानार्कषण गर्ने उदेश्यले सो सम्मेलनको तयारी गरिएको हो ।

प्रधानले सो सम्मेलनको लागि सैद्धान्तिक निर्णय भए पनि तयारीको लागि आवश्यक थप निर्णय र छलफल हुन बांकी रहेको बताइन् । यसअघि संघको गत साता सम्पन्न पदाधिकारी बैठकले एनआरएनए महिला विश्व सम्मेलन गर्न अनुमति दिएको थियो ।

गैरआवासीय नेपाली संघको आयोजनामा आगामी जुन महिनाको अन्तिम साता हुने सो सम्मेलनमा नेपाल सरकार, नेपाल मानवअधिकार आयोग, महिला आयोग, महिला संचारकर्मी लगायतका महिला अधिकारकर्मी समेतको सहभागिता रहनेछ ।

गैरआवासीय नेपाली संघले पहिलो पटक विदेशमा रहेका महिलाहरुको उपस्थितमा सो सम्मेलनको आयोजना गर्न लागेको हो ।

गैरआवासीय नेपाली संघको विधानले ३३ प्रतिशत महिलाहरुलाई संघको केन्द्रीय कार्यसमितिमा समेटेको छ भने महिला उपाध्यक्ष, महिला सचिव, महिला सहकोषाध्यक्ष, महिला संयोजक लगायतको पदमा महिलाहरु सकृय छन् ।