२२ बैशाख २०८१, शनिबार
Follow Us

बराबरीपछि वेस्टह्याम र ब्राइटनले बाँडे अंक

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८०, बुधबार ०६:४१

लन्डन । इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । ब्राइटनले लिगको जारी सिजनमा पहिलो पटक क्लिन सिट राखेको हो ।

लन्डन स्टेडियममा गएराति भएको खेलमा दुवै टिमले गोलका लागि धेरै प्रयास गरेका थिए । तर गोल गर्न सकेनन् । तुलनात्मक रुपमा घरेलु टोली भन्दा ब्राइटनले गोलका बढी अवसर सिर्जना गरेको थियो ।

बल पोजिसनमा पनि अघि रहेको ब्राइटनले वेस्टह्यामको डिफेन्स भने तोड्न सकेन । बेस्टह्यामका जेम्स वर्ड प्राउसले आफ्नो टिमलाई अघि बढाउने मौकाको सदुपयोग गर्न सकेनन् । ब्राइटनका ज्याक हिन्सेलउड र पास्कल ग्रसलाई घरेलु गोलकिपरले सफल हुन दिएनन् ।

ब्राइटनले लिगका २४ खेलपछि पहिलो पटक क्लिन सिट राख्न सफल भएको हो । वेस्टह्याम भने लगातार चौथो जित हात पार्नबाट चुक्यो । तालिकाको छैटौँ स्थानमा रहेको वेस्टह्यामको २० खेलबाट ३४ अंक छ । ब्राइटन ३१ अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ ।