२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनको १० अर्ब लगानी – लगानी भित्राउन सीमा नलाग्ने, सरकारको निर्णय स्वागत योग्य : डा. केसी

नेपालब्रिटेन डट कम्
२२ पुष २०८०, आईतवार ०३:३६


सरकारको निर्णय स्वागत योग्य : डा. केसी

लण्डन । गैरआवासीय नेपाली संघले स्थापना गरेको इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीका अनुसार नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गरेको हो ।

गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा लगानी गर्न सीमा नलाग्ने व्यवस्थाले सानो सानो लगानी भित्र्याउन सहज हुने बताइएको छ । गैरआवासीय नेपाली संघले नेपालको शेयर बजारमा १० अर्बको लगानी भित्राउने प्रतिबद्धता सहित इन्भेस्टमेन्ट कम्पनी दर्ता गरेको थियो ।

अध्यक्ष डा. केसीले दुई वर्ष देखि नेपाल सरकारसंग गरिएको लविङको नतिजा स्वरुप पछिल्लो निर्णय आएको भन्दै सरकारको निर्णयले गैरआवासीय नेपाली लगानीकर्ताहरु उत्साहित भएको बताए ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी गत वर्ष कात्तिक २८ मा सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोडमा झारेको थियो ।

न्यूनतम लगानीको सीमा पाँच करोड रुपियाँ राख्दा साना लगानीकर्तालाई नेपालमा लगानी गर्न कठिन हुन थालेपछि लगानीको सीमा कम गरिएको थियो ।

लगानीको सीमा घटाएसँगै नेपालमा विदेशी लगानी बढ्दै गएको हो । सरकारले नीतिगत र प्रशासनिक सुधार गरेसँगै चालु आवमा विदेशी लगानीमा सुधार आएको तथ्याङ्कले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्म तीन अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

गत आर्थिक वर्षको सो अवधिमा ४३ करोड रुपियाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो । मुलुकमा आर्थिक गतिविधि लयमा आउन थालेपछि विदेशी लगानीमा सुधार हुँदै आएको बताइएको छ ।