२१ बैशाख २०८१, शुक्रबार
Follow Us

दयाहाङका तीन फिल्म एकै साथ फ्लोरमा, रुम्जाटारदेखि अमेरिकासम्म सुटिङ

नेपालब्रिटेन संवाददाता
२५ पुष २०८०, बुधबार ०५:३५

काठमाडौं । दयाहाङ राईको अभिनय रहने दुई फिल्म एकै साथ सुटिङमा निस्किएका छन् । एउटाको सुटिङ ओखलढुंगाको रुम्जाटारमा सुरु भएको छ भने अर्को फिल्मको ललितपुरको सुनाकोठीमा ।

दसैँअघि पहिलो खेप सुटिङ सकिएको ‘डिग्री माइला’ अन्तिम सेड्युलका लागि आइतबारदेखि फ्लोरमा निस्किएको हो भने उनकै अभिनय रहने भनिएको ‘मनसरा’ पनि सोमबारदेखि फ्लोरमा निस्किएको । ‘मनसरा’को अधिकांश सुटिङ ललितपुरकै सुनाकोठी वरिपरि रहने निर्माण टिमका सदस्यले जानकारी गराएका छन् ।

यति मात्र होइन दयाहाङको अभिनय रहने भनिएको अर्को फिल्मको पनि सुटिङ धमाधम भइरहेको छ । त्यो फिल्म हो ‘भूठान’ । अमेरिकाको ओहायो राज्यमा यो फिल्मको पनि सोमबारदेखि सुटिङ सुरु भएको छ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो फिल्मका लागि दयाहाङ माघ ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रय रहेको छ ।

‘मनसरा’ र ‘भूठान’ मा भने दयाहाङको अतिथि भूमिका रहने बताइएको छ । यसैले ‘मनसरा’ का लागि उनले ८ दिनको समय छुट्याएको बताइएको छ भने ‘भूठान’ मा त्योभन्दा कम दिनको सुटिङ रहेको जानकारी छ । एक समय राजेश हमाल र निखिल उप्रेतीले एकै चोटि तीन चारवटा फिल्मको सुटिङ गर्ने गरेको अन्तर्वार्ता दिने गरेका थिए । अहिले दयाहाङलाई त्यो सौभाग्य जुरेको छ ।