१४ असार २०८१, बिहीबार
Follow Us

न्यक्यासलमाथि सिटीको रोमाञ्चक जित, चेल्सीले फुलह्यामलाई हरायो

नेपालब्रिटेन संवाददाता
२९ पुष २०८०, आईतवार ०६:४१

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासलमाथि ३ – २ गोलको रोमाञ्चक जित हात पारेको छ । केभिन डि ब्रुयना प्रेरित सिटीका लागि अस्कर बबले निर्णायक गोल गरेका थिए ।

न्युक्यासलको मैदान सेन्ट जेम्स पार्कमा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा साविक विजेता सिटीले २६ औं मिनेटमा अग्रता लिएको थियो । बर्नान्डो सिल्भाले, कायल वाल्करको क्रसमा गोल गरेका थिए । तर तीन मिनेटको अन्तरमा दुई गोल गर्दै न्युक्यासलले सिटीमाथि दबाब बनायो । ३५ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै खेल बराबरी गरेका थिए । उनले बु्रनो गिमारेजको पासलाई सदुपयोग गर्दै सिटीका रिजर्भ गोलकिपर स्टेफान ओर्टेगालाई कुनै मौका नदिइ गोल गरेका थिए । अटेर्गाले चोटग्रस्त एडरसनलाई प्रतिस्थापन गरेका हुन् । गिमारेजको चार खेलमा यो चौथो गोल हो ।

३७ औं मिनेटमा एन्थोनी गर्डनको गोलपछि सिटी दुई-एकले पछि परेको थियो । सुरुवाती अग्रता लिएका पछिल्ला ७२ प्रिमियर लिगमा मात्र एक खेल हारेको सिटीलाई घरेलु टोलीले बलियो चुनौती पेस गर्‍यो ।

प्रशिक्षक पेप ग्वार्डिवालाले भर्खरै चोटमुक्त भएका केभिन डि ब्रुयनालाई ६९ औं मिनेटमा सिल्भाको स्थानमा मैदान प्रवेश गराए । सधैँ झै डि ब्रुयनाले फेरि एक पटक सिटीलाई उद्धार गरे । उनले मैदान प्रवेश गरेको चार मिनेट ३५ सकेन्डमा गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

इन्जुरी समयमा बबले डि ब्रुयनाले नै मिलाइदिएको बलमा गोल गरेपछि सिटीले जित हात पारेको हो । बबको यो पहिलो प्रिमियर लिग गोल हो । यस्तै डि ब्रुयना सन् २०१४ मा सर्जियो अग्वेरो पछि सब्सिच्युटका रुपमा एकै खेलमा गोल र एसिस्ट गर्ने पहिलो खेलाडी बनेका छन् ।

२० खेलबाट ४३ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको लिभरपुलको ४५ अंक छ । न्युक्यासल २९ अंकका साथ दशौं स्थानमा छ ।

प्रिमियर लिगको अर्को खेलमा चेल्सीले फुलह्यामलाई १ – ० गोलले हराएको थियो । चेल्सीको जितमा पहिलो हाफको इन्जुरी समयमा कोल पाल्मरेले पेनाल्टीमा गरेको गोल निर्णायक बन्यो । २१ खेलबाट ३१ अंकसहित चेल्सी आठौं स्थानमा उक्लियो ।