१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए टोली कोशी प्रदेशमा, मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी

नेपालब्रिटेन डट कम्
२ माघ २०८०, मंगलवार १३:३४

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले तीनवटा प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघले कोशी प्रदेश, मदेश प्रदेश, लुम्बिनी प्रदेशमा आगामी हप्ता ती मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरेको हो ।

यसैक्रममा अध्यक्ष डा. बद्री केसी सहितको टोली मंगलवार भद्रपुर पुगेको छ । गैरआवासीय नेपाली संघका अनुसार कोशी प्रदेशको धरानमा बुधवार आयोजना हुने विशेष कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री केदार कार्कीले सो बस हस्तान्तरण गर्ने भएका छन ।

अध्यक्ष केसीको टोलीमा उपाध्यक्ष डा. हेम राज शर्मा, महिला उपाध्यक्ष रोजिना प्रधान, युवा उपाध्यक्ष रोशन थापा, सचिवहरु डा. ज्ञानेन्द्र रेग्मी, पारसमणी पोखरेल, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायत रहेका छन् ।

कार्यक्रम गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी तथा स्थानीय निकायका प्रतिनिधि, सरकारी उच्चअधिकारीहरुको उपस्थिति रहने छ ।

यसअघि गैरआवासीय नेपाली संघले जनवरी १६ देखि २६ सम्मको १० दिने कार्यतालिका सार्वजनिक गर्दै जाजरकोट र पश्चिम रुकुममा छात्रछात्राहरुलाई ‘न्यानो कपडा’ वितरणको कार्यक्रम समेत तय गरेको थियो ।

संघले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानी लगायतका विषयमा सरोकारवाला सरकारी निकाय र मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यस्तै संघले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्ने र महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट अवलोकन गर्ने कार्यक्रमतय गरेको छ ।

संघले बैजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुरमा निर्मित छात्रा शौचालय, नेपाल क्रिकेट संघलाई टि – २० विश्वकपमा सहभागिताको आर्थिक सहयोग हस्तातरण गर्ने भएको छ ।

यस्तै, कंगोमा मृत नेपालीको परिवारको सहयोगार्थ एनआरएनए राष्ट्रिय समिति कंगोद्वारा संकलन गरिएको सहयोग रकम हस्तातरण र सुदुर पश्चिम प्रदेशमा लगानी सम्मेलन सम्बन्ध संघले विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक यहि जनवरी २१ र २२ तारिख काठमाण्डौंमा बस्दैछ । बैठकले एनआरएनएको दुई वर्षे कार्य योजना तर्जुमा गर्ने बताइएको छ ।