२७ असार २०८२, शुक्रबार
Follow Us

भारतको राममन्दिरमा नेपालको शिला

नेपालब्रिटेन संवाददाता
४ माघ २०८०, बिहीबार ०५:४९

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिर परिसरमा नेपालको कालिगण्डकीबाट लगिएका दुइवटा शिला राखिएको छ । बेनीस्थित कालिगण्डकीको शिला उल्लेख गरेर सबैले दर्शन गर्न मिल्नेगरी सजाएर राखिएको हो ।

म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीको किनारमा रहेका दुइवटा शिलालाई भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा थापना गरिने मूर्ति बनाउनका लागि भन्दै १ वर्ष अगाडि पठाइएको थियो ।

गत वर्षको १८ माघमा कालीगण्डकी क्षेत्रबाट २४ टन र १४ टनका दुई शिला अयोध्यामा पुर्‍याइए पनि ती शिला भने बाहिरै राखिएको छ । दुई शिला मध्ये एउटा काट्ने क्रममा धर्सा देखिएपछि शीलालाई भने गर्भगृह बाहिरै राखिएको बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो । रामको बाल्यकालको मूर्ति निर्माणका लागि लगिएका दुई शिला मध्ये एउटा काट्ने क्रममा धर्सा देखिएर त्यसबाट मूर्ति बनाउन सम्भव नभएपछि शिलालाई मन्दिर परिसरमा सजाएर पुजा गर्न मिल्नेगरी राखिएको हो ।

राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको प्रयासपछि मन्दिर निर्माण भएको हो । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ तारिकमा गरिनेछ । राम मन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली नेपालको जनकपुरधामस्थित जानकी मन्दिरमा भएकोले सोही दिन जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ। राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना हुनेछ। राम मन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुराली जनकपुर धामबाट सुनचाँदीका गरगहना, लत्ताकपडा, मिठाई फलफूल र फर्निचरका समान सहितका ११ सय बढी भार कोसेली राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गरिसकेको छ ।

अयोध्यामा निर्माण भएको राममन्दिर उद्घाटनको दिन नजिकिएसँगै भारतभरि चर्चा चुलिरहँदा राम मन्दिरमा नेपाली पुजारी रहेको विषयले पनि थप चर्चा पाएको छ । जनवरी २२ मा उद्घाटन हुने मन्दिरका मुख्य आचार्य झापाका दुर्गाप्रसाद गौतम हुनुहुन्छ । ३५ वर्षीय गौतम २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत हुनुहुन्छ । मन्दिरको मूल पुजारी सत्येन्द्र दासले दैनिक पूजाआजा र आरती गरेपनि , मन्दिरमा हुने कुनै पनि ठूला अनुष्ठान, पूजापाठ, महत्त्वपूर्ण व्यक्तिहरूको आगमनमा हुने पूजाआजाको नेतृत्व भने गौतमले गर्दै आउनुभएको छ ।

धेरै पढिएको