१९ बैशाख २०८१, बुधबार
Follow Us

परोपकारमा एनआरएनएको साढे ६ करोड

नेपालब्रिटेन डट कम्
७ माघ २०८०, आईतवार ०१:३०

‘एनआरएनएको ९० दिन: भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहकार्य, क्रिकेटमा दीर्घकालीन साझेदारीको प्रयास’

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले नयाँ कार्यसमिति आएपछि परोपकारी कामा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको छ । एनआरएनए आईसीसी अध्यक्ष डा. बद्री केसी तथा पदाधिकारीको उपस्थितिमा शनिबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ कार्यसमितिको तीन महिने अवधिमा विभिन्न परोपकारी कार्यमा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको विवरण सार्वजनिक गरिएको हो ।

अध्यक्ष केसीको नेतृत्वमा गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व समालेको आज ९० दिन पूरा भएको छ । विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. केसीसहितको नयाँ कार्यसमिति चुनेको थियो । कार्यसमितले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीबीच तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको प्रवक्ता फणिन्द्र पन्तले बताए ।

उनकाअनुसार संघले तीन महिनाको अवधिमा नयाँ कार्यसमितिले मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितको सहयोग, खेल क्षेत्रमा आर्थिक सहयोगलगायतको मानवीय काममा ९० दिनमा करिब ६ करोड ६५ लाख ९१ रुपैयाँ बारबारको आर्थिक सहयोग गरेको छ ।

संघले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिलगायतबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको प्रवक्ता पन्तले जानकारी दिए । उनकाअनुसार संघले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गरिरहेको छ ।

यसैगरी, संघले यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा, मधेश प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ भने आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी रहेको प्रवक्ता पन्तले बताए ।

तीन महिने अवधिमा एनआरएनएले टी-२० विश्वकपमा पुग्न सफल क्रिकेट टिमलाई पनि आर्थिक सहयोग गरेको छ । स्थापनाकालदेखि नै संघले नेपाली राष्ट्रिय खेलाडीहरूको मनोबल उच्च राख्न र खेल विकासको लागि आवश्यक सहयोग गर्दै आएको भन्दै प्रवक्ता पन्तले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए । उनकाअनुसार नेपाली भलिबल राष्ट्रिय टिमको लागि ८ लाख रुपैयाँ, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताको सहयोगार्थ २ लाख ५० हजार रुपैयाँ, पोखरा म्याराथनका लागि ७ लाख ५० हजार रुपैयाँ, एनआरएनए इलाम गोल्ड कपको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

यसैगरी, संघले धनगढीको सेती प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँ, कञ्चनपुर जिल्लाको महाकाली प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेको उनले जानकारी गराए ।

यसैगरी एनआरएनएले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई गैरआवासीय नेपाली संघ कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ परिवारलाई राहतस्वरुप हस्तान्तरण गरेको छ ।

यस्तै, कञ्चनपुरको झलारीस्थित कृष्ण वैजनाथ बहुमुखी कलेजका छात्राहरूको शौचालय निर्माणको लागि २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको, सडक बालबालिकाको शिक्षा तथा बसोबासको सहयोगार्थ युसेफ नेपाल, भक्तपुरमार्फत् ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको प्रवक्ता पन्तले जानकारी गराए ।

पत्रकार सम्मेलनमा प्रवक्ता पन्तले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानी लगायतका विषयमा सरोकारवाला सरकारी निकाय र मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी रहेको बताए ।

उनकाअनुसार अगामी दिनमा संघले कोशी प्रदेश लगानी प्राधिकरणसँग सहकार्यमा चियाको प्रवर्धन र प्राविधिक शिक्षामा सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको छ ।

पत्रकार सम्मेलनमार्फत संघले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको लगानी सम्मेलनमा सहभागी भएर सहकार्य गर्न विदेशमा रहेको नेपाली समुदायलाई आह्वानसमेत गरेको छ ।

गैरआवासीय नेपाली संघसम्बन्धी ऐन, २०६४ बमोजिम संघ दर्ता गरेको १० वर्ष पूरा भइसकेकाले संघको नवीकरण प्रक्रियाको लागि तोकिएको समयमा ऐन तथा नियमावलीबमोजिम नेपाल सरकारले तोकेबमोजिमका आवश्यक कागजातसमेत परराष्ट्र मन्त्रालयमा बुझाए पनि मन्त्रालयको ढिलाइको कारणले तत्काल संस्थालाई नवीकरणको बाटो खोल्न पाटन उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

प्रवक्ता पन्तले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यक्रमहरू तय गर्न संघको पूर्ण बैठक आइतबार र सोमबार काठमाडौंस्थित चन्द्रागिरिमा बस्ने जानकारी पनि दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष डा. बद्री केसीले गैरआवासीय अभियान गैरराजनीतिक अभियान भन्दै जितेर आएको समितिलाई सरकारले सहयोग गर्नुपर्ने बताए । ‘पराजित साथीहरुले सरकारलाई गुमराहमा पारे, केही असहजता पैदा गरेको छ । तर सरकारले सहयोग नै नगरेको होइन,’ उनले भने । यदि निर्वाचनमा त्रुटि भएको नै हो भने अनुसन्धान गर्न तयार रहेको तर उपविजेताले असहयोग गरेको उनले गुनासो गरे । निर्वाचनमा त्रुटि छन् भने अदालत जाने बाटो खुलै रहेको भन्दै उनले चुनौनी दिए । उनले चुनाव हारजित हुने भन्दै मिलेर सँगै काम गर्न सबैलाई आह्वान पनि गरे ।

गैरआवासीय नेपालीको नागरिकतालाई राज्यका निकाय मालपोत, एयरपोर्टले नचिन्ने गरेको भन्दै नागरिकताबाट पाउने अधिकारका लागि छुट्टै निर्देशिका बनाउन गृह र परराष्ट्रमा पहल गरिरहेको बताए । नागरिकता ऐनअनुसार चाँडै निर्देशिका बनाएर समाधान हुने उनले बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष डा. हेमराज शर्मा, रामशरण सिम्खडा, रोशन थापा, महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी सहभागी थिए ।