१९ बैशाख २०८१, बुधबार
Follow Us

प्रवासी नेपालीलाई मताधिकार दिँदा पार्टीले हारे पनि देशले जित्छ : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
८ माघ २०८०, सोमबार ०५:४१

काठमाण्डौं । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले प्रवासमा बस्ने नेपालीहरुलाई तत्काल मताधिकार दिन आग्रह गरेका छन् ।
डा. शर्माले गैरआवासीय नेपाली संघले सोमवार चन्द्रागिरीमा आयोजित मताधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा ७० लाख नेपाली रहेको भन्दै ०८४ को चुनावमा मतदान गर्न पाउने सुनिश्चित गर्न दलहरुलाई अनुरोध गरे ।

प्रमुख ६ दलका नेताहरुको उपस्थित रहेको कार्यक्रममा बोल्दै डा. शर्माले ४७ लाख श्रम स्वीकृत लिएर गएको र अन्य विद्यार्थी भिसा तथा अवसरको खोजीमा गएको भन्दै राज्यबाट कहिले गैरआवासीय नागरिकता पाइन्छ भनेर नागरिकता नत्यागी बसेको बताए ।

१ करोड ८० लाख मतदातामध्ये भारतबाहेक ३० प्रतिशत बाहिर रहेको भन्दै शर्माले सर्वोच्चको आदेशअनुसार निर्वाचन आयोगले कानुन मस्यौदा गरेर गृहमा बुझाएको र कानुनी पाटो व्यवस्थापन भइरहेको बताए । ‘अब प्राविधिक पाटो कसरी व्यवस्थापन गर्न सकिन्छ । खाडी मुलुकमा समस्या छ, त्यहाँ एकैपटक भेला गर्न सकिँदैन । कसरी व्यवस्थापन गर्न सकिन्छ ?’ उनले सोधे ।

कानुनमा अनलाइन भोटिङको प्रस्ताव गरिएको भन्दै शर्माले अनलाइन पद्धति नै प्रभावकारी हुने बताए । ‘अमेरिका र अष्ट्रेलियाले विगत १० वर्षदेखि चुनावमा अनलाइन भोटिङ गरिरहेका छन् । यसपटक संघको चुनावमै हामीले अनलाइन भोटिङमार्फत प्रविधि प्रयोगको सुनिश्चित गरेका छौं । आयोगले हाम्रो अनुभवप्रति चासो राखेको छ । अनलाइन प्रणाली सम्भव छ,’ उनले भने । अनलाइन मतदानको कुरा आउँदा अन्य देशले धेरै पहिलेदेखि एनआरएनएलाई हुलाकबाट मतदानको सुविधा दिइरहेको भन्दै थपे, ‘मतदाता नामावली दूतावासबाट प्रस्ताव भएर आउने भनिएको छ । यो कति सम्भव छ । दूतावास नभएको ठाउँमा कसरी गर्ने ?’

प्रवासी नेपालीलाई मतदानको अधिकार दिने सम्बन्धमा दलहरुको मन चिसो पसेको आफूहरुले महसुस गरेको भन्दै शर्माले थपे, ‘३० प्रतिशत बालिग मताधिकार बाहिर छ । उनीहरुले नतिजा उथलपुथल बनाइदिन्छन् । उनीहरुकै कारण बालेनदेखि मधेशी दलसम्म उदाए भन्ने बुझाइ छ । अथवा एनआरएनएको नाममा पार्टी नै खोल्दिने हो भने भ्रम छ । हाम्रो संघकै विवाद देखाएर नगर्ने माहोल बनाउन खोजिएको छ । संसदीय समितिकै बैठकमा केही माननीयले एनआरएनएकै चुनावमा गडबड भयो भनेर पनि गर्नुहुन्न जस्तो भन्नुभएको छ । तर ठूला दलहरु डराउनुपर्दैन । बाहिर बसेका युवाहरु पढेका बुझेका छन् । केही पार्टीले हार्नुहुन्छ होला, तर देशले जित्छ ।‘

उपाध्यक्ष शर्माले मतदानका लागि साधन स्रोतको अभाव हुँदा संघबाट युवाहरु भोलिन्टियर खटाउन तयार रहेको पनि बताए । २०३६ को जनमतसंग्रहमै एनआरएनलाई मतदान गराएको उदाहरण दिँदै ०८४ को निर्वाचनमा मतदानको अधिकार दिन उनले आग्रह गरे ।

भारतीय मुलका धेरै मानिस बेलायत र अन्य देशको राष्ट्रप्रमुख भएको भन्दै अबको दुई तीन पुस्ता अमेरिकाको राष्ट्रपति बन्न सक्ने हिसाबले राज्यले गैरआवासीय नेपालीलाई प्राथमिकता दिनुपर्ने शर्माले जोड दिए ।