२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन निर्वाचन परिणाम हार्दिकतापूर्वक स्वीकार गरौं : शंकर भण्डारी, नेपाली कांग्रेस नेता

नेपालब्रिटेन डट कम्
१० माघ २०८०, बुधबार ०२:३१

लण्डन । नेपाली कांग्रेसका नेता तथा सांसद शंखर भण्डारीले गैरआवासीय नेपाली संघको गत अक्टोवरमा सम्पन्न निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गर्नु पर्ने बताएका हुन् ।
भण्डारीले गैरआवासीय नेपाली संघको आयोजनामा सोमवार चन्द्रागिरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनको परिणामलाई सरकार स्वयंले हार्दिकतापूर्वक स्वीकार नगरेको कुरा दुखद भएको बताए । ‘त्यसमा पनि संस्था नवीकरण नहुनु र अदालत जानुपर्ने अवस्था दुखद कुरा हो, यो नहुनुपथ्र्यो । तल्लो तहदेखि नासासम्म काम गर्ने नेपाली छन् । तर देश गाह्रो छ । यसो हुनुपर्छ भन्यौ तर देश बिग्रिँदै गइरहेको छ,’ उनले भने ।

एक अर्ब च्यारिटी गरिसकेको, एक खर्ब लगानी गरिरहेको र ८० खर्ब लगानीको क्षमता राख्ने एनआरएनए देशमा आर्थिक कारणले सबै कामहरु अवरुद्ध भएका बेला हातेमालो गर्नेमा यो विवाद आउनु उपयुक्त नभएको उनको भनाइ थियो ।

‘मुलुक समस्यामा परेका बेला एनआरएनए किन आएन ? त्यसो भए एनआरएनए किन बनाएको हो ?
एनआरएनएमा विवाद आउनुमा तपाईहरुको पनि दोष छ । नेताहरुका कहाँ जाने तपाइहरु नै हो । अहिले अदालत जानुभएको छ । तर कार्यान्वयन गर्ने सरकार हो । यसरी दुरी बढाउन हुन्थेन । परराष्ट्रमन्त्री र उर्जामन्त्रीसँग कुरा हुँदा निर्वाचित समितिलाई मान्यता दिनुपर्छ भन्नुभएको थियो । तर अहिले समिति बनेको भन्ने सुन्नमा आएको छ । दुरी बढाउन उपयुक्त होइन,’ उनले भने ।

एनआरएनएलाई अब विवादको विषय बनाउन नहुने भन्दै भण्डारीले थपे, ‘जति दुरी बढ्छ त्यति राम्रो हुँदैन । आन्तरिक दुरी नबढाउ । विवादको विषय नबनाउ । यसलाई तत्काल रोकौ । हामी दलभित्र र प्रधानमन्त्रीजीलाई पनि भन्छौं । रास्वपाका साथीहरुले पनि रविजीलाई भनिदिनुपरयो प्रधानमन्त्रीकहाँ गएर दबाब दिनुपर्यो ।’

नेपालमा राजनीतिक स्थिरता नहुँदा समस्या भएको र देशभन्दा पार्टी ठूलो हुने अवस्था बनेको भन्दै विश्वको सामरिक फेरबदलले पनि देश अफ्ठेरोमा परेका बेला विवादलाई बढाउनेभन्दा समाधानमा जोड दिनुपर्नेमा ध्यानाकर्षण गराए । ‘अहिलेको विवादलाई समाधान गर्नको लागि ढिलो गर्न हुन्न । यसमा मेरो भूमिका हुन्छ,’ उनले भने । गैरआवासीय नेपालीको ८० खर्बलाई नेपाल ल्याउने बाटो पहिल्याउन दलहरु गम्भीर बन्नुपर्ने र देश बनाउनुपर्ने उनको भनाइ थियो ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख ६ दलका नेताहरुले संघको निर्वाचनको परिणाम स्वीकार गर्नु पर्नेमा जोड दिए ।