२२ बैशाख २०८१, शनिबार
Follow Us

मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७४, शनिबार १५:०३

सप्तरी । विगतमा सरकारसँग भएको सम्झौता र सहमति कार्यान्वयन नभएसम्म निर्वाचनमा सहभागी पनि नहुने र बिथोलेरै छाड्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज सप्तरी सदरमुकाम राजविराजमा झडप भएको छ ।
निर्वाचनको प्रयोजनका लागि स्थानीय केशो अनिरुद्ध माविमा आज आयोजित मतदाता शिक्षा स्वयम्सेवक तालिम बिथोल्न जाँदा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । मोर्चाका कार्यकर्ताले तालिम हल भित्र पसेर शैक्षिक सामग्री र आवश्यक कागजात च्यात्ने र नियन्त्रणमा लिन थालेपछि प्रहरीले लाठी प्रहार गरेको हो । घटना पछि मतदाता शिक्षा कार्यक्रम स्थगन गरिएको छ ।
प्रहरीको लाठी प्रहारबाट मोर्चाका शम्भु यादव, विनोद यादव, आशोलाल यादल र मनोज राउत घाइते भएका छन् । घाइते सबैको स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये शम्भु यादवको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
मोर्चाका कार्यकर्ताले निर्वाचन कार्यक्रम बिथोल्न खोज्दा सामान्य बल प्रयोग गर्नुपरेको प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । यसैबीच प्रहरी दमनको विरोधमा मोर्चाका कार्यकर्ताले नगरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।