१५ बैशाख २०८१, शनिबार
Follow Us

‘एनआरएनए इलाम गोल्डकप’को उपाधि एनआरटीको पोल्टामा

नेपालब्रिटेन डट कम्
१३ माघ २०८०, शनिबार १६:४९

काठमाण्डौं । इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडौँ (एनआरटी) ले चुमेको छ। शनिवार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो।
गैरआवासीय नेपाली संघको प्रायोजनमा भएको सो खेल निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा एनआरटीका सुुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरे। एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाए।

बिर्तामोडको तर्फबाट योगेश गुरुङ, घनश्याम मुर्मु र देवेन्द्र तामाङले गोल गरे। झापाका प्रदीप बुढाथोकी र अनिल गुरुङको प्रहार विपक्षी गोलकिपरले बचाए। बिर्तामोड टिमका हिसुब थपलिया फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए। फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए।

एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो। बिर्तामोडले सेमिमा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो।

विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन्। रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो भने आठ टिम सहभागी थिए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीतर्फ गोलकिपर एनआरटीका प्रिसो, मिल्ड फिल्डर बिर्तामोडका योगेश गुरुङ, फरवर्ड एनआरटीका राजीव लोप्चन, डिफेन्डर बिर्तामोडका सञ्जित राई, प्रशिक्षक एनआरटीका हरिहोम श्रेष्ठ, राइजिङ प्लेयर रेडहर्सका विवेक मगर, सर्वाधिक गोलकर्ता रेडहर्सकै नवयुग श्रेष्ठ र सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका रोहन कार्की घोषित भए। उनीहरूले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए।

गैरआवासीय नेपाली संघले नेपालको खेल क्षेत्रमा सहयोग गर्ने नीति अनुरुप इलाम गोल्डकप’लाई सहयोग गरेको थियो । खेलाडीहरुलाई हौसला दिन संघका सचिव पारमणी पोखरेल, संघको केन्द्रीय कार्यालयका आइटी प्रमुख महेश श्रेष्ठ र आइटी अफिसर रुपक लामिछाने खेल मैदानमा उपस्थित थिए । यसअघि संघले नेपाल क्रिकेट एसोशियसन र भलिवल एसोशियसनलाई क्रमशः १० लाख र ८ लाख रुपैया सहयोग गरेको थियो ।