२२ बैशाख २०८१, शनिबार
Follow Us

बेनीमा बौद्ध विहार निर्माण

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७४, आईतवार ०७:३१

बाबियाचौर । बेनी नगरपालिका–७ मा रु ५० लाखभन्दा बढी लगानीमा बौद्ध विहार निर्माण भएको छ । म्याग्दी बौद्ध सङ्घले निर्माण गरेको बौद्ध विहारको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष मैत्री महाअष्टवीरले शनिबार उद्घाटन गर्नुभयो । विहार निर्माणका लागि बेनीको सङ्गमचोक निवासी पुण्यबहादुर र लक्ष्मी शाक्यले एक रोपनी सात आना जग्गा सहयोग गर्नुभएको थियो ।
समुदायस्तरबाट रु ५३ लाख सहयोग जुटाएर बुद्ध विहारको भवन निर्माण भएको म्याग्दी वौद्ध सङ्घका सचिव याम शाक्यले बताउनुभयो । दुईतले पाँच कोठे विहारमा पूजास्थल, प्रवचनस्थल र भिक्षु निवास रहेको छ ।
यसैगरी रु तीन लाखको लागतमा प्रवेशद्वार र रु छ लाखको लागतमा विहारसम्म जाने बाटोमा रेलिङ राखिएको छ । विहारमा पूर्वाधार निर्माणका लागि साविकको जिविस र पर्यटन कार्यालय पोखराले रु सात लाख सहयोग गरेका छन् ।
बेनीको मङ्गलाघाट बजारमाथि रहेको बौद्ध विहार क्षेत्र शान्त र एकान्त वातावरणमा अवस्थित छ । बौद्ध विहार परिसरबाट सदरमुकाम बेनी बजार र मङ्गलाघाटको अवलोकन गर्न सकिन्छ । विहारमा दैनिक पूजाआजा, साप्ताहिक रुपमा धर्मादेशना हुने गरेको छ । पाँच वर्षअघि टिनले छाएको अस्थायी टहरामा रहेको बौद्ध विहार परिसरको पूर्वाधार निर्माणसँगै अहिले कायापलट भएको छ । पूर्वाधार सुविधासँंगै भक्तजन र आन्तरिक पर्यटकको आगमन पनि बढ्न थालेको जनाइएको छ ।