१८ कार्तिक २०८१, आईतवार
Follow Us

रुकुम पश्चिममा प्रहरीमाथि आक्रमण: दुई प्रहरी घाइते

नेपालब्रिटेन संवाददाता
१५ माघ २०८०, सोमबार १२:५४

काठमाडौं । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि प्रहार भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ ।

घटना आइतबार बेलुकाको भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिएका छन । बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, ४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्कालगायत अन्य १२–१३ जनाको समूहले कुटपिट गरेको खड्काले जानकारी दिएका छन ।

स्थानीयले फोनमार्फत प्रहरीलाई उक्त सूचना दिए । त्यस पश्चात् प्रहरी नायव निरीक्षक शोभा सिंह थारुको कमान्डमा चार जनाको प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको खड्काले जानकारी दिएका छन । उनले भने, ‘उनीहरूले प्रहरीमाथि हातपात गर्दै ढुङ्गा समेत प्रहार गरे, ‘हाम्रो साथीहरू घाइते हुनुभयो ।’

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको दाडमा र खड्काको टाउकोमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि आइतबार राति नै जिल्ला अस्पताल सल्ले ल्याइएको र थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।