५ बैशाख २०८२, शुक्रबार
Follow Us

पिआरको बात लागेपछि उपाध्यक्ष पदबाट राजीनामा

नेपालब्रिटेन संवाददाता
१५ माघ २०८०, सोमबार १२:५८

काठमाडौं । अमेरिकाको पिआर लिएकी समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उजुरी परेपछि राजीनामा दिएकी हुन् । पिआर भएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा बस्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै उनलाई परिषद्को उपाध्यक्षमा नियुक्ति गरिएको भन्दै उजुरी परेको थियो ।

मोनिकाकी सासु अर्थात् पूर्वमन्त्री उमा रेग्मीले उनलाई नियुक्त गरेकी थिइन् । रेग्मीले आफू महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदा बुहारीलाई नियुक्त गरेकी हुन् । मोनिकालाई उपाध्यक्ष सिफारिस गरेपछि २०७८ मङ्सिर २ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो ।

परिषद् अध्यक्षसमेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उपाध्यक्षले दिएको राजीनामा स्वीकृत गरी सकेका छन् । मन्त्री आचार्यले भने, ‘उहाँले स्वास्थ्यको कारण देखाउँदै राजीनामा बुझाउनु भएको छ । स्वीकृत पनि भई सकेको छ ।’ मोनिकाले शुक्रवार राजीनामा बुझाएकी हुन् । उनी यसअघि एक महिनाको बिदामा थिइन् ।