१६ बैशाख २०८१, आईतवार
Follow Us

देउराली फाउन्डेसनद्वारा विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण

नेपालब्रिटेन डट कम्
१७ माघ २०८०, बुधबार ०४:०१

काठमाडौँ । विभिन्न पेशा ब्यबसायमा संलग्न स्वयंसेवी हरुद्वारा स्थापित परोपकारी संस्था देउराली फाउन्डेसनले बिद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ। पर्बत जिल्ला पैयुँ गाउँपालिका – ४ बेसिथोक स्थित पैयुँ कालिका आधारभूत बिद्यालयका ३३ जना बिद्यार्थीहरुलाई बिद्यालयको नाम अंकित पोशाक तथा बर्षदिन भरिलाइ पुग्ने कापी, कलम तथा अन्य शैक्षिक सामग्री वितरण गरिएको हो ।

यी सामाग्रीहरु, यहि माघ १६ गते आयोजना गरिएको बिद्यालयको ३६ औ बार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा देउराली फाउन्डेसनका एड्भाइजरि काउन्सिल मेम्बर ओम प्रताप सेनले हस्तान्तरण गर्नु भएको थियो । प्राय आर्थिक अवस्था कम्जोर भएका र समाजमा पछाडी पारिएका समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयलाई सहयोग गरेकोमा गाउपलिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तोरण मल्ल ठकुरी , उपाध्यक्ष यम कुमारी राना र वडाध्यक्ष टुकलाल न्यौपानेले देउराली फाउन्डेसनको प्रसंसा गर्नु भयो ।

बिद्यालयका प्रधानाध्यापकले , ड्रेस र कापी कलमको अभाबमा बिद्यालय छोड्ने विद्यार्थीको संख्या बढ्दै गएको अवस्थामा देउरालीको सहयोगले अब यो प्रक्रिया रोकिने र बिद्यालयको सिकाइ उपलब्धिमा समेत उल्लेख्य प्रगति हुने बिश्वास ब्यक्त गर्नुभयो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरण प्रताप सेनको अध्यक्षतामा संचालित कार्यक्रममा अभिभावकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

स्मरण रहोस, देउराली फाउन्डेसनले यस बिद्यालय संगै जोडिएको, २२ बर्ष देखि बन्द रहेको मिसन अस्पताल पुन संचालनको बाताबरण बनाउन पुराना भवनहरुको मर्मत संहार, रंग रोगन, विद्युतीकरण र अस्पताल परिसरलाई कम्पाउण्डिङ्ग गरि गेट हाल्ने काम सम्पन्न गरिसकेको छ ।