१८ बैशाख २०८१, मंगलवार
Follow Us

यू-१९ विश्वकपः नेपालले आज सुपर सिक्समा बंगलादेशसँग भिड्दै

नेपालब्रिटेन संवाददाता
१७ माघ २०८०, बुधबार ०४:३७

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । तर खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिएको छ ।

सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो । सुपर सिक्समा नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । अब बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ ।

तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट बाहिरिएका छन् ।

सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ ।

नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आउन सकेको थिएन । त्यसैले नेपालको कुनै अंक छैन । नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अंक जोडिन्छ । त्यसैले समूह ‘ए’ बाट भारत र समूह ‘डी’ बाट पाकिस्तान अपराजित रहँदै सुपर सिक्स खेल्नु अघि नै ४–४ अंकका साथ आएका थिए ।

अब बंगलादेश, भारत र पाकिस्तानमध्ये दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल खेल्न बंगलादेश नेपाल र पाकिस्तान दुवैलाई फराकिलो अन्तरले हराउँदै नेटरनरेटमा भर पर्नुपर्छ । सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २१४ रनले हरायो । अर्को खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हरायो ।