८ बैशाख २०८१, शनिबार
Follow Us

बम्जनको आश्रम सुनसान

नेपालब्रिटेन संवाददाता
१७ माघ २०८०, बुधबार ०५:०८

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-८ पैरे जहाँ झन्डै २२ विगाहा क्षेत्रफलको जग्गा घेरिएको छ । सो जग्गाभित्र फलामजडित आल्मोनियमका भवन, जस्तापाताले बेरेका भवन तथा त्रिपालका टहरा गरी झन्डै दुई दर्जन टहराहरु छन् ।

जिल्ला अदालत सर्लाहीको आदेशमा पूर्पक्षका लागि जेल चलान भएका लिटिल बुद्ध नाममले चिनिएका रामबहादुर बम्जनको मुख्य आश्रम हो पैरे । अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले काठमाण्डौको बुढानिकण्ठबाट बम्जनलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि जेल चलान भएका बम्जनको आश्रम हाल सुनसानझै भएको छ ।

बम्जनको आश्रम भित्र पुग्दा केही अनुयायीहरु मात्रै भेटिएका बम्जनको आश्रमभित्र बम्जनको अनुपस्थितिमै पुजापाठ गरेर बस्ने गरेको अनुयायीहरु सुनाउछन् । “हाम्रो गुरु चाँडै छुट्नुहुन्छ भन्ने हामीलाई विश्वास छ”- बम्जनको आश्रमभित्र भेटिएका महामात्मा गुरु भनेर चिनिने अनुयायी हेमलाल देवकोटाको भनाइ छ ।

बम्जनलाई पक्राउ पुर्जी जारी भएसँगै सिन्धुली आश्रममा बम्जन बस्न छाडेका थिए । आश्रममा बस्न छाडेपछि बम्जन रहँदाको जस्तो चहलपहल छैन । यहाँ विशेष पुजा हुँदा धेरै चहलपहल हुन्छ, बोधि श्रवण धर्म संघ सिन्धुलीका सदस्य राजेश लामाले भने अहिले यहाँ त्यस्तो विशेष पूजा छैन यो एउटा केन्द्रिय आश्रम मात्रै हो पुजापाठ अन्य विभिन्न गुम्बाहरुमा हुन्छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-८ पैरे आश्रममा रहेका अनुयायीहरु बम्जन बिनानै बम्जनले दिएको मन्त्र जप गरेर पुजापाठ गर्ने गरेको उनिहरु बताउछन् ।

निजगढ नगरपालिका-१२ बारा स्थायी ठेगाना भएका आफुलाई तपस्वि बताउने रामबहादुर बम्जनलाई अपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेपछि झन्डै तीन बर्षदेखि सिन्धुली आश्रममा देखिएका थिएनन् ।

आश्रमभित्र विभिन्न तहका गरी करिब पचास भन्दा बढी अनुयायीहरु रहेको बोधि श्रवण धर्मसंघले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-८ पैरेस्थित बोधी श्रवण धर्म संघ मैत्री सेन्ट्रल अफिस निर्माण गरी बम्जनसहित अनुयायीहरु बस्दै आएका थिए ।

२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक वनमा अस्थाई आश्रमका रुपमा बस्न बम्जन सिन्धुली आएका थिए । तर सिन्धुलीमा तीन महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुनः २०७४ साल असोजदेखि सिन्धुलीलाई नै मुख्य आश्रम बनाएर बस्दै आएका थिए ।