९ आश्विन २०८३, शुक्रबार
Follow Us

मनोहरामा बहाव बढेपछि च्यासलस्थित एमाले कार्यालय क्षेत्र पुगे गृहमन्त्री गुरुङ

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०८३, शुक्रबार ११:५६

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका प्रमुख बागमती, विष्णुमती, मनोहरा लगायतका नदी तथा खोलामा जलसतह बढेको छ ।

बढ्दो जलसतहसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा निरन्तर अनुगमन गरिरहेका छन् ।

यसैबीच गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगेर खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।

सो क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री गुरुङले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएको बताए । उनले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम पहिचान तथा प्रतिकार्यका लागि सरकार गम्भीरताका साथ लागिरहेको बताए ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ ।

वर्षा अझै जारी रहेकाले नदी तथा खोलाको जलसतह थप बढ्न सक्ने भन्दै सम्बन्धित निकायले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

धेरै पढिएको