१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए प्रतिनिधिमण्डल र श्रममन्त्रीबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
१८ माघ २०८०, बिहीबार १४:०९

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका श्रमिकका समस्या र रोजगारीका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग छलफल गरेको छ।

संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको टोलीले बिहीवार वैदेशिक रोजगारीका क्रममा श्रमिकले भोग्दै आएका समस्या समाधानका विषयमा छलफल गरेको हो।

छलफलमा इराकलगायतका मुलुकमा रहेका नेपाली श्रमिकहरुका समस्या समाधानका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष केसीले जानकारी दिए।

टोलीले तत्कालका लागि पुनः श्रम स्वीकृति र राहदानी नवीकरणको समस्या समाधान गर्न आग्रह गरेको हो।

‘इराक रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएको छ। तर, विभिन्न बाटो हुँदै २० हजारभन्दा बढी नेपाली त्यहाँ पुगेका छन्। रोजगारी गरिरहेका नेपालीलाई अहिले श्रम स्वीकृति चाहिएको छ। इराकलगायत अन्य मुलुकमा कार्यरत श्रमिकले भोग्नु परेका कठिनाइका विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो,’ उनले भने।

इराकमा रहेका नेपालीका समस्या समाधानमा आफूहरूले पहिलेदेखि नै सरकारसँग समन्वय गर्दै आइरहेको उनले बताए। अहिले सरकारले इराकमा रहेका नेपालीको राहदानी नवीकरण गर्ने काम सुरु गरिसकेको बताउँदै अब श्रम स्वीकृति प्रदान गर्न पहल गरिरहेको उनको भनाइ छ।

भेटमा श्रममन्त्रीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राखेका थिए।

भेटमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स्, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमन, जापान, कोस्रिया, रोमानिया, माल्टा, पोर्चुगललगायतका श्रम मुलुकहरुमा नेपाली श्रमिकहरूले भोग्नुपरेको विभिन्न समस्याहरू त्यसको समाधानका विकल्पहरूको विषयमा समेत छलफल गरिएको थियो।

वैदेशिक रोजगारीमा हुने ठगीबाट विदेशमा श्रमिक पाएको सास्ती, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्यालगायतका विषयमा श्रममन्त्रीको ध्यानाकर्षण गराइएको हो।

उक्त छलफलमा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारी सहभागी थिए।