पोखरा । भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन अहिले ठप्पप्रायः छ । मुलुकको पर्यटकीय राजधानीमा स्वदेशी तथा विदेशी पर्यटक नहुँदा सुनसान बनेको पोखराले विश्व पर्यटन दिवसका अवसरमा भने ‘नेपाल खुला छ, पोखरा पर्यटकको स्वागतका लागि तयार छ’ भन्ने सन्देश दिएको छ ।
प्राकृतिक विपत्तिले पर्यटन क्षेत्र प्रभावित भइरहेका बेला पोखराको लेकसाइडमा आइतबार साँझ आयोजित मिनी सडक महोत्सवमार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिकाबीच यहाँका पर्यटकीय गतिविधि सञ्चालनमा रहेको र पर्यटकको स्वागतका लागि व्यवसायीसमेत तयार रहेको सन्देश प्रवाह गरेका हुन् ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गरेको महोत्सवमा पर्यटन क्षेत्र खुला रहेको सन्देश प्रवाह गराइएको थियो । भोटेकोशी बाढी तथा देशका विभिन्न स्थानका विपत्तिसँगै पोखरा जोड्ने मुख्य सडकमार्ग पृथ्वी राजमार्ग प्रभावित हुँदा पर्यटक आगमन उल्लेख्य रूपमा घटेको छ ।
सामान्य अवस्थामा स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइडमा अहिले पर्यटकको उपस्थिति न्यून छ । यस्तो अवस्थामा पर्यटन दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवले लेकसाइडमा केही चहलपहल बढाउनुका साथै पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने प्रयास गरेको छ ।
महोत्सवमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार तथा आतिथ्यलाई महोत्सवमा प्राथमिकता दिइएको थियो ।
रेवान पोखराका अध्यक्ष वसन्त गौतमले पर्यटन क्षेत्रले विषम परिस्थितिको सामना गरिरहेका बेला पोखरा सुरक्षित रहेको र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको बताउनुभयो ।
“भोटेकोशी बाढी र लामो समय मुख्य राजमार्ग अवरुद्ध हुँदा पोखराको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । बुकिङ रद्द भएका छन् । यस्तो अवस्थामा महोत्सवमार्फत स्थानीय कला, संस्कृति, खानाका परिकार तथा आतिथ्यलाई पर्यटकसमक्ष प्रस्तुत गरेर यहाँका पर्यटकीय गन्तव्य खुला तथा सुरक्षित रहेको सन्देश दिन महोत्सव सफल भएको छ”, अध्यक्ष गौतमले भन्नुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित राख्न नहुने बताउनुभयो । पोखरा आउने पर्यटकको आवश्यकता र रुचिअनुसार सेवा तथा पर्यटकिय क्षेत्रको विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“पोखरामा आउने पर्यटकको आवश्यकता र रुचिअनुसार सेवा तथा पर्यटन उत्पादन विकास गर्नुपर्छ । यहाँको पर्यटकीय गतिविधिलाई विस्तार गर्दै नयाँ गन्तव्य र अनुभवसँग जोड्नुपर्ने आवश्यकता छ”, प्रमुख आचार्यले भन्नुभयो । उहाँले पर्यटकलाई व्यवसायीले आफूले दिन चाहेको सेवामात्र नभई उनीहरूको इच्छा र आवश्यकताअनुसार सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
पर्यटकिय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्ग दुई साताभन्दा बढी समय प्रभावित बनेको तथा अन्य सडक मार्गमा समेत अवरोध र जोखिम बढेपछि पर्यटक आगमन प्रभावित भएको पर्यटन व्यवसायीले बताएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले सुस्ताएको पोखराको पर्यटन गतिविधिलाई चलायमान बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । पोखराबाट हालै फ्लाइ दुबईले पोखरा–दुबई रुटमा उडान सुरु गरेपछि पोखराको पर्यटन गतिविधिमा सकारात्मक प्रभाव पर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“फ्लाइ दुबइको उडानसँगै पोखरा तथा गण्डकी प्रदेशको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा यात्रु आवागमनमा थप सहजीकरण भएको छ । यो उडानलाई दिगो र दीर्घकालीन बनाउन सकेको खण्डमा पोखराको पर्यटनले मात्र होइन सबै क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ”, अध्यक्ष भुजेलले भन्नुभयो ।
लगातारको वर्षाका कारण प्रभावित पोखराको मौसम आइतबार बिहानदेखि सुधार हुँदै गएपछि महोत्सवका क्रममा लेकसाइडमा चहलपहलसमेत बढेको थियो । महोत्सवमा सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा स्थानीय परिकार प्रस्तुत गरिएको थियो ।
भोटेकोशी बाढी र मनसुनको प्रभाव कम हुँदै गएकाले पर्यटक आगमन बढ्ने विश्वास यहाँका व्यवसायीको छ । विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले स्थल तथा हवाईमार्गबाट पोखरा आउने विदेशी पर्यटकलाई स्वागत गरेका थिए ।